हेटौंडाः नेपाली कांग्रेसका प्रवक्ता प्रदिप कोइरालाले जनतामा व्यापक असन्तुष्टि छ भनेर सरकारमा बस्नेहरुले बुझ्नुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वा सञ्चालनमा रहेको नागरिक संवाद केन्द्रले हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुइ तिहाई जनमत प्राप्त सरकारको काम निराशाजनक भएको टिप्पणी गरेका हुन् ।
केन्द्रले भदौ १ गतेदेखि असोज २ गतेसम्म नेपालको संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभामा भएका विधेयक दर्ता सहितको गतिविधिहरुको विषयमा अन्तरसम्बाद कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता कोइरालाले जनताको विश्वास र मत पाएको सरकारको ५ वर्षे कार्यकाल सुरुवात नै निराशाजनक भएको टिप्पणी गरे ।
वर्तमान अवस्थामा आफ्नै पार्टीका जिम्मेवार नेता, कार्यकर्ताले समेत विरोध जनाइरहेको भन्दै सरकारले जनताको पक्षमा काम गर्न जरुरी रहेको बताए । “कांग्रेस आएपछि गर्छ भन्दिनँ म, यही सरकारले गर्नुपर्छ भन्ने मेरो मान्यता हो”, उनले भने । कम्तीमा पनि मौलिक हकमा भएका व्यवस्थाहरुको कार्यान्वयनमा जाने काम सरकारले गर्नुपर्ने उनको भनाई छ । ओली सरकारको दुइवटा बजेट गइसके पनि तेस्रो बजेटले जनमुखी काम गर्ने लक्ष्य लिनुपर्ने प्रवक्ता कोइरालाको धारणा थियो ।
कार्यक्रममा केन्द्रका फोकल पर्सन रघुनाथ खरालले चालु आर्थिक वर्षको भदौ महिनाभित्र संसदमा छलफल, पास एवम फिर्ता भएका विधेयकको विषयमा जानकारी गराए । फोकल पर्सन खरालको प्रस्तुतीपछि राप्रपा नेता सिताराम बर्तौला, अधिवक्ता अप्सरा बस्नेत, प्राध्यापक कृष्ण दाहाल, सुरेश रेग्मी, हेमन्त ढुंगेल लगायतले आफ्ना भनाई व्यक्त गरेका थिए । वक्ताहरुले कार्यक्रममा यस किसिमको छलफल आवश्यक रहेको र यस्ता विषयमा हरेक नागरिकले जान्न पाउनुपर्ने प्रतिक्रिया दिए ।