• अञ्जली थापा
    विद्यार्थीहरुलाई स्कुल जान हतार भएझैं बिहान ९ बजेपछि सविना लामा र बालकुमारी गौतमका पाइलाहरु छिटो छिटो चल्न थाल्छन् । १९ बर्षे किशोरी सबिना लामासँगै उमेरले ५० कटेकी हेटौंडा—५ पिप्लेकी बालकुमारी गौतमको अक्सर ध्यान काष्ठमा कस्ता बुट्टा दिने र कसरी आकर्षक बनाउने भन्नेमा हुन्छ ।

आफ्नो सीपबाट उद्यमी बन्ने सपना बोक्दै केही समयअघि काष्ठकला सम्बन्धी तालिम लिएकी उनले अहिले भने आफ्नो समूहले सञ्चालन गरेको काष्ठ हस्तकला उद्योगमा नै बुट्टा कुँदेर आफ्नो रहर पूरा गर्न थालेकी छन् । बुट्टा कुँदेर नै त्यसबाटै पैसा कमाउने सपना पूरा गर्नतर्फ लालायित देखिन्छिन्, बालकुमारी । उनी अहिले विभिन्न किसिमका फोटो फ्रेम, आँखीझ्याल, ढोका, झ्याल, मन्दिरको गजुरदेखि लिएर अन्य काष्ठकला सम्बन्धी बुट्टा कुँद्न पोख्त बनिसकेकी छिन् । उनी अहिले यस पेशाबाट सन्तुष्ट भएको बताउँछिन् । उनि भन्छिन्, “म र मेरो श्रीमान् बल छउन्जेल निर्माण पेशामा काम गरेर परिवार पाल्यौं तर अब हामी निर्माण कार्यमा काम गर्न नसक्ने भैसकेका छौं, अब यो काम बसी बसी गर्ने भएकोले सजिलो पनि भएको छ ।” मकवानपुरमा सामुदायिक वन उपभोक्ता समुहका महिलाहरुलाई वनबाट नै आर्थिक उन्नती गराउनको लागी अस्मिता नेपाल र हिमवन्तीको संयुक्त प्रयासमा सञ्चालन भएको तालिमबाट गत बर्ष सिक्ने अवसर पाई यसैमा व्यवसायिक रुपमा लाग्ने योजना बनाएकी थिइन् ।
बालकुमारी र सपना जस्तै अन्य ५० जना विपन्न वर्गका महिला एवम् किशोरीहरुले तालिम लिएर यसलाई पेशाको रुपमा पिकास गरिसकेका छन् । यसै बर्ष स्नातकोत्तर सकेर बसेकी गढी गाउँपालिकाकी २२ बर्षीय मेरिना लामा पनि काष्ठकलालाई नै आफ्नो आर्थिक विकासको मुख्य स्रोत बनाउने योजनामा छिन् । सानैदेखी चित्र कोर्न औधी मन पराउने उनको परिवार मनकामना सामुदायिक वन उपभोक्ता समुहमा आश्रित छ । उनी पनि वन समुहको सदस्य भएकोले उनले यो अवसर पाएकी हुन् । उनी भन्छिन्, “मैले व्याचलर सकेकी छु, मलाई यो पेशा औधी मन परेकोले यसमा लाग्ने योजना बनाएकी हुँ ।”

अर्की १९ वर्षीया सबिना लामा पनि काष्ठ हस्तकलालाई आफ्नो मुख्य पेशा बनाउने सोच रहेको बताउँछिन् । तालिम प्राप्त गरेका हेटौंडा–५ स्थित पिप्लेपोखरा सामुदायिक बन उपभोक्ता समुहमा रहेका महिलाहरुको समूहले उद्योग दर्ता गरी सञ्चालन गरिरहेका छन् । महिलाहरुले उद्योग चलाउन थालेपछि यसमा आफ्नो भविष्य देख्न थालेको सबिना बताउँछिन् । उता मकवानपुरगढी गाउँपालिकास्थित मनकामना सामुदायिक बन उपभोक्ता समुहका महिलाहरु पनि काष्ठकला मार्फत उद्यमी बनेका छन् । उनीहरुले बनाएको काष्ठ हस्तकला सामग्री मकवानपुर लगायत देशका अन्य सहरहरुमा पनि बिक्री हुने गरेको बताउँछन् । बिपन्न परिवारकी सबिनाले आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो पढाई पूरा गर्न नपाएको तर आफ्नो भाइ बहिनीको पढाई पूरा गर्न यो पेशा अति उत्तम लागेको बताउँछिन् । “काठमाडौंका महिलाहरुले यो पेशाबाट मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्छन् रे, हामीले किन नगर्नु, फेरी हामीले त यो अबसर वन समुह र संस्थाको सहयोगले निःशुल्क पाएका छौं । फेरी महिलाले काष्ठकलामा संलग्न नभएको हाम्रो समाजमा हामी महिलाले पनि काष्ठ हस्तकलाबाट उद्यमी बनेर पर्याप्त आम्दानी गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छौं ।”
काष्ठ हस्तकला सम्बन्धी तालिम दिँदै आएका प्रशिक्षक बाबुलाल वाइबाका अनुसार हाल काठका सामग्रीको बजार राम्रो छ । उनी बैदेशिक रोजगारी भन्दा पनि काष्ठकलाको माध्यमबाट राम्रो आम्दानी हुने दावी गर्छन् ।

केही समयअघि तालिमको आयोजना गरेको संस्था अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सामुदायिक वन संरक्षण गरिरहेका महिलाहरुलाई आत्मर्भिर, आर्थिक सशक्तिकरण गराउँदै उद्यमशिल बनाउन तालिम सञ्चालन गरिएको बताइन् ।

मकवानपुरमा सामुदायिक वन उपभोक्ता समुहका महिलाहरुलाई वनबाट नै आर्थिक उन्नती गराउनको लागी अस्मिता नेपाल र हिमवन्तीको संयुक्त आयोजनामा उनिहरुलाई तालिम र औजारको साथै काठहरुसमेत सहयोग गरिएको थियो । (रासस)