हेटौंडा,४ असोजः ३ नम्बर प्रदेश सरकारको ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम आज हेटौंडाबाट सुरु भएको छ । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमको हटौंडा–८ कमानेमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा विरुवा रोपेर ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंह लगायतले वृक्षारोपण गरेका थिए । त्यस्तै, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, वडा नम्बर–८ का अध्यक्ष गोपाल श्रेष्ठ, कार्यालयका प्रमुख, विद्यालयका शिक्षक, विद्यार्थी लगायत स्थानीयहरु कार्यक्रममा उपस्थित भएका थिए ।
विद्यालय परिसरमा लिच्ची, कटहर, आँप, एभोकाडो लगायतका विभिन्न फलफूलका २०० वटा विरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मुल समारोह समिति ३ नम्बर प्रदेशको आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश तीनको संयोजनामा वृक्षारोपण कार्यक्रम आयोजना भएको हो । यस कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’का लागि मन्त्रालयले २६ लाख ४० हजार रुपैयाँ बजेट छुट्याएको छ । कार्यक्रम अन्तर्गत ३ नम्बर प्रदेशका सबै सरकारी विद्यालयहरुमा बिरुवा रोपिने डिभिजन वन कार्यालयले जनाएको छ ।