हेटौंडाः संविधान दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मकवानपुरले हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरेको छ ।
पार्टीका जिल्ला इञ्चार्ज विरोध खतिवडा सहित जिल्लाका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा “संविधान दिवस–२०७६ असोज ३, नेपाल कम्युनिष्ट पार्टी मकवानपुर” लेखिएको अक्षरमाथि सामुहिक रुपमा मैनबत्ती बालेर संविधान दिवस पूर्वसन्ध्याको खुसीयाली साटासाट गरेका हुन् ।
दीप प्रज्वलन सभालाई सम्बोधन गर्दै नेकपा मकवानपुरका इञ्चार्ज बिरोध खतिवडाले संविधान अधुरो छ भनेर आन्दोलन गर्नेभन्दा पनि यसमा भएका कमीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । “संविधानलाई नमान्ने होइन, यसमा भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्ने हो”, उनले भने ।
राम्रा कुराहरुको पालना गरी कमी कमजोरी सच्याएर अघि बढ्नु नै लोकतन्त्रको सुन्दर पाटो भएको उनको भनाई थियो । उनले लामो समयसम्म नेपाली जनताले गरेको बलिदानी र त्यागका कारण प्राप्त भएको संविधानलाई केही होइन भनेर अवमूल्यन गर्नु गलत भएको बताए ।
सभालाई सम्बोधन गर्दै नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको उपलब्धीको रुपमा संविधान प्राप्त भएको दिनलाई सबैले खुशीका साथ स्वागत गर्नुपर्ने बताए । उनले सबै जनताले घर घरमा दिपावली गरेर यस दिनलाई मनाउन पार्टीले निर्णय गरेको पनि जानकारी दिए ।