हेटौंडाः नेपाल अर्बूृद रोग निवारण संस्थाको स्थापना दिवसको अवसरमा हेटौंडा अस्पतालमा दुई दिने निःशुल्क स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शिविर आजबाट हेटौंडामा शुरु भएको छ । संस्थाको ३७औं स्थापना दिवसको अवशरमा दुई दिने शिविर शुरु भएको हो ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले महिलाको अकालमै ज्यान जाने गरेको बताइन् । उनले आफु बिगतमा क्यान्सरबाट पीडित भएको स्मरण गर्दै समयमै महिलाहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी सुपरभाइजर अयोध्या पाठकले परीक्षणमा सहभागी हुने महिलालाई पाठेघर तथा स्तन क्यान्सरको बिषयमा सहजीकरण गर्ने जानकारी दिइन् । संस्थाकी मकवानपुर अध्यक्ष कपिला जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरि बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । भोली बिहिबारसम्म चल्ने शिविरमा बि.पि मेमोरियल क्यान्सर अस्पताल भरतपुरका स्वास्थ्यकर्मीहरु तारा दवाडी र मन्जु शर्माले पाठेघरको भिआइ ए परीक्षण गर्ने आयोजकले जनाएको छ ।