हेटौंडाः हेटौंडा उपमहानगरपालिकालाई फूलैफूलको सहर बनाउने मेयर हरिबहादुर महतको योजना छ । यस कार्य अन्तर्गत फूल रोप्न मात्रै हालसम्म पौने दुई लाख रुपैयाँ खर्च भएको देखिएको छ ।
हेटौंडा बजार क्षेत्रमा उपमहानगरपालिकाले फूल रोपेर १ लाख ७८ हजार रूपैयाँ खर्च गरेको पाइएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडा उपमहानगरपालिकालाई फूलैफूलको शहर बनाउने योजना बनाएका थिए । सोही योजनालाई पूर्णता दिन उपमहानगरपालिकाले गत बर्षदेखि यता १४ महिनामा ८ हजार ८ सय ३४ थान फूलका बिरुवा रोपेको हो ।
हरित नगरीको रुपमा परिचित हेटौंडालाई फूलैफूलको सहर बनाउने योजना सहित यसबर्ष पनि फूल रोप्ने कामलाई निरन्तरता दिने मेयर महतको योजना छ । उपमहानगरपालिकाले यस अवधिमा फूल खरिदका लागि १ लाख ७८ हजार रुपैयाँ खर्च गरिसकेको हो । शहरको सौन्दर्य बढाउन तथा वातावरणीय हिसाबले बजार क्षेत्रमा सयपत्री, डालेफूल, असारे, मुसुन्डा, बेगमबेली घन्टी जातका फूल रोप्ने काम अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।
फूल रोप्ने कामलाई यसबर्ष पनि निरन्तरता दिइने उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले जानकारी दिए । उपमहानगरपालिकाले फूल राप्ने तथा स्याहार गर्नकै लागि ३ जना मालीहरुको व्यवस्था समेत गरेको छ । यसबर्ष फूल मात्र नभई फलफुलको बिरुवा रोप्ने कार्यक्रम समेत तय गरेको प्रमुख महतको भनाई छ ।
उपमहानगरपालिकाले कान्तिराजपथको डिभाइडर, हेटौंडा अस्पताल अगाडी, बसपार्क माछाबजार, आँखा अस्पताल रोड, जिल्ला प्रहरी कार्यालय अगाडी, राप्तीपुल नजिक, नगरपालिकारोड, देवी हलरोड लगायतका स्थानहरुमा फूल रोप्ने कार्य सम्पन्न गरिसकेको र यस बर्ष बाँकी स्थानहरुमा पनि फूल रोप्ने योजना रहेको मेयर महतले बताएका छन् ।