हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन वोर्डमा डिजिटल सूचना पाटी राख्न सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डिजिटल सूचना पाटीको औपचारिक उद्घाटन गरेका हुन् । सूचना पाटीमा अब प्रत्येक महिनाको आम्दानी, खर्च सहित सबै खालका विवरण राखिने जनाइएको छ ।
सूचना पाटीको उद्घाटन गर्दै मेयर महतले राम्रो काममा सबै मिलेर लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्टले साउन महिनादेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको बताए । बजार क्षेत्रमा पानीको समस्या नभएको अध्यक्ष विष्टले बताएका छन् । बोर्डले डिजिटल सूचना पाटीसँगै इसेवा मार्फत पानीको महसुल भुक्तानीको काम पनि सुरु गरेको छ । यो सँगै पानीको पैसा तिर्नका लागि खानेपानी बोर्डको कार्यालयमा पुग्नुपर्ने बाध्यता हटेको छ । इसेवा मार्फत पानीको महसुल रकम जम्मा गर्न सकिने बोर्डले जनाएको छ ।
कार्यक्रममा खानेपानी बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, कृष्ण कटुवाल, कृष्ण धिताल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले गत आर्थिक वर्षको आम्दानी खर्च र योजनाको बिवरण प्रस्तुत गरेका थिए । –जनपत्रबाट