हेटौंडा,२७ भदौः सामाजिक समस्याको रुपमा रहेको बाल विवाहको न्यूनीकरणका लागि विद्यार्थीहरुले आफ्नो वक्तृत्व मार्फत प्रस्तुती दिएका छन् । वदलिँदो परिस्थितिसँगै बाल विवाहको रुप परिवर्तन भएपनि अझैसम्म बाल विवाह समाज तथा देशकै समस्याको रुपमा रहेको भन्दै बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीहरु लाग्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित निर्मल उच्च मावि परिसरमा आज आयोजित वक्तृत्वकलामा १९ नम्बर वडाको दुई विद्यालयबाट सहभागी वक्ताहरुले बाल विवाह अन्त्य सम्भव छ भन्दै विद्यार्थी त्यसको संवाहक हुन सक्ने बताए । विभिन्न नाममा हुने बाल विवाहलाई निरुत्साहित गैर कानूनी गतिविधिमा बन्देज लगाउन गाउँ टोलमा सचेतना कार्यक्रम गर्नुपर्नेमा विद्यार्थी वक्ताहरुले जोड दिए । प्रतियोगितामा १४ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा निर्मल उच्च माविकी छात्रा प्रकृति बर्तौला प्रथम, अरनिको माविका मनोज प्रजा द्वितीय, निर्मल उच्च माविकी सपना बर्तौला तृतीय र अरनिको माविका राजेश ओझा सान्त्वना भए । कार्यक्रममा निर्मल उच्च माविका प्राचार्य प्रवोध विडारी, प्रदेश ३ सामाजिक विकास मन्त्रालय अन्तर्गत बाल विवाह मुक्त प्रदेश अभियान जिल्ला सहजकर्ता पविना लामा, मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामा, समूहका सामाजिक परिचालकहरु विष्णुमाया तितुङ, कल्पना पाख्रिन लगायत सहभागी भएका थिए । मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीको अध्यक्षतामा सञ्चालित प्रतियोगितामा हेटौंडा–१९, का अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
एक्सन एड्को सहयोगमा मकवानपुर महिला समूहले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई स्थानीय रुपमा निर्मल उच्च माविले संयोजन गरेको थियो ।