हेटौंडाः राष्ट्रिय महिला अधिकार मञ्चले सञ्चालन गर्दै आएको ‘एक रुपैयाँ अभियान’ सञ्चालन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको छ । हेटौंडास्थित मञ्चको सचिवालय संस्था मकवानपुर महिला समूहको कार्यालयमा आफ्ना सदस्यहरुलाई सो सम्बन्धी अभिमुखीकरण दिइएको हो ।
राष्ट्रिय महिला अधिकार मञ्चको आयोजनामा एक्सन एड नेपाल/मकवानपुर महिला समूह र महिला अधिकार मञ्च मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चमा रहेका जिल्लाका महिलाहरु सहभागी भएका थिए ।
निर्देशिकाबारे प्रस्तुती दिँदै राष्ट्रिय महिला अधिकार मञ्चकी महासचिव निर्मला महतराले महिला आन्दोलनमा सहयोगी हुने गरी अभियान सञ्चालन गरिएको र यसमा आफूलाई अनुकूल पर्ने गरी सहभागी हुन सकिने जानकारी गराइन् ।
मकवानपुर महिला समूहका अध्यक्ष कमला सुवेदीले कार्यक्रमको औचित्यबारे प्रकाश पारिन् । त्यस्तै, मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले उक्त कार्यक्रमले अभियानबारे सदस्यहरुमा थप स्पष्टता ल्याउन सहयोग गरेको बताइन् ।
राजनीतिक रुपले स्वतन्त्र रुपमा काम गर्ने महिलाहरुको खुल्ला सञ्जालको रुपमा महिला सञ्जालको आवश्यकता महसुस गरी २०६५ सालमा गठन भएको राष्ट्रिय महिला अधिकार मञ्चको हाल ३५ भन्दा बढी जिल्लामा शाखा विस्तार भइसकेको बताइन्छ ।
अभिमुखीकरण कार्यक्रमपछि मञ्चका सदस्यहरुले दर खाई तीजको शुभकामना आदानप्रदान गरेका थिए ।