तीज गीतमा नाच्दै सहभागीहरु

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन बृद्धाश्रममा रहेका आमाहरुलाई पतंजली योग महिला समितिले नचाएको छ । तीजको अवसरमा आयोजित दर खाने कार्यक्रममा समितिले आश्रमका आमाहरुलाई तीज गीतमा नचाएको हो ।

बृद्धाश्रममा केही सहयोग गरी त्यहाँ पनि पर्वको उल्लास ल्याउने प्रयास समितिले गरेको हो । समितिकी संयोजक रुपा श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पूर्व सांसद केदार न्यौपाने, ३ नम्बर प्रदेश सभा सदस्यहरु मुनु सिग्देल र जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी लगायतले मन्तव्य मार्फत तीजको शुभकामना दिएका थिए । कार्यक्रममा पतंजली योग महिला समितिकी उपाध्यक्ष शशिकला थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा पतंजली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, हेटौंडा उपमहानगरपालिका–४, ७ र १५ नम्बर वडाका अध्यक्षहरु, दिव्य सेवा निकेतनकी संरक्षिका सुनिता दिदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडास्थित संस्कृत वेद विद्यालयका वटुकहरुले मन्त्रोच्चारण र दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले तीज गीत पनि प्रस्तुत गरेका थिए । साथै, औपचारिक कार्यक्रम सकिएपछि आयोजक तथा बृद्धाश्रमका आमाहरु तीज गीतमा नाचेका थिए । पतंजली योग महिला समिति मकवानपुरले आयोजना गरेको कार्यक्रमलाई पतंजली योग जिल्ला समिति मकवानपुरका साथै पतंजली योग हेटौंडा उपमहानगर समिति र पतंजली योग युवा समितिले सहयोग तथा समन्वय गरेको थियो ।