हेटौंडा,१० भदौः विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी मकवानपुरको जिल्ला कमिटी सदस्य भिम प्रसाद गौतमले पार्टी त्यागेको घोषणा गर्दै आफू स्वतन्त्र नागरिक भएर बाँच्ने बताएका छन् ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले व्यस्तताको कारण आफूले पार्टी परित्याग गरेको बताएका हुन् । नेपाल अटो इ रिक्सा व्यवसायी संघ हेटौंडाका अध्यक्ष समेत रहेका गौतमले आगामी दिनमा पार्टीका कुनै पनि गतिविधीमा आफू संलग्न नहुने भन्दै आफूले सो पार्टी त्यागेको बताएका हुन् ।
ऋणमा मासिक किस्ता तिर्ने गरि अटो लिएर चलाइरहेको भन्दै उनले सरकारले प्रतिबन्ध लगाएको पार्टी भनेर पटक–पटक आफूलाई अनुसन्धानमा बोलाउँदा समस्या भइरहेको जानकारी गराए । अनुसन्धानको लागि साउन १७ गते पक्राउ परेका गौतमलाई प्रहरीले भदौ ८ गते १० हजार रुपियाँ धरौटीमा तारेखमा रिहा गरेको थियो ।
प्रहरीलाई पार्टी छोडेको बताएपनि प्रमाण मागेको हुँदा पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको गौतमले बताएका छन् । आजदेखि आफू स्वतन्त्र नागरिक भएर बाँच्ने उनको संकल्प उनको छ ।