हेटौंडाः निर्माण कम्पनीको लापरवाहीका कारण समयमै काम नसकिँदा सरकारको काममा समेत नकारात्मक असर परिरहेको सन्दर्भमा सम्झौता मिति सकिनुअघि नै विद्यालय भवन निर्माण सम्पन्न गरेको भन्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण कम्पनीको खुलेर प्रशंसा गरेका छन् ।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका–७, डाँडाबासमास्थित सुन्दरीदेवी माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटनको क्रममा उनले निर्माण पक्षको काम अनुकरणीय भएको बताएका हुन् । सम्झौता मिति सकिनुभन्दा छ महिना अघि नै भवन निर्माण सम्पन्न गरेर निर्माण पक्षले सो भवन एक समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । स्वछन्द जेभी खानी कन्ट्रक्सनले भवन निर्माणको जिम्मेवारी पाएको थियो ।
भवन उद्घाटन कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ठेक्का प्रणालीले सरकारको कामलाई नै प्रभावित गरिरहेको प्रसंग उठाएका थिए । निर्माण कम्पनीहरुको लापरवाहीका कारण सरकारका काम प्रभावित भइरहेको र काम समयमै हुन नसकेको मुख्यमन्त्री पौडेलको भनाई थियो । मन्तव्यका क्रममा उनले सो विद्यालयमा जोड दिइएको प्राविधिक शिक्षामा प्रदेश सरकार पनि साथ रहेको बताए ।
प्रदेश सरकार प्राविधिक शिक्षालाई विस्तार गर्ने पक्षमा रहेको भन्दै उनले ‘अब ९० प्रतिशत प्राविधिक शिक्षा र १० प्रतिशत मात्र अन्य शिक्षा दिनुपर्छ,’ भने । प्राविधिक शिक्षा विस्तारका क्रममा जनशक्तिको अभाव हुनसक्नेमा जोड दिँदै मुख्यमन्त्री पौडेलले सिमित विद्यालयमा धेरै विद्यार्थीले पढ्ने गरी वातावरण तयार गर्नुपर्ने र होस्टेल लगायत सुविधामा ध्यान दिइने बताए ।
कार्यक्रममा प्रदेश सांसद कुमारी मोक्तान, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट, जिल्ला शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख बद्रीबहादुर पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले विद्यालयको शिक्षा लगायत गुणस्तर बृद्धिमा स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक जस्ता सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
सुन्दरीदेवी माध्यमिक विद्यालयमा निर्मित तीन तले पक्की नौ कोठे भवन र शौचालय हस्तान्तरण गरिएको हो । करिव चार करोड छ लाख रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय दातृ निकाय जाईकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।
भवन र शौचालय निर्माणबाट विद्यालयका चार सय ६१ विद्यार्थी लाभान्वित भएको प्रधानाध्यापक प्रतापसिंह गोलले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनायक गोलेले विद्यालयको अवस्थाबारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका थिए ।
सो अवसरमा विद्यालयको विकासमा योगदान दिने र सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भवन उद्घाटन कार्यक्रमपछि विद्यालयमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, कविता वाचन लगायत प्रस्तुती दिएका थिए ।