काठमाडौं, ४ भदौ । काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको छ ।
बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएको हो ।
वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले जानकारी दिए । उनले ती बालबालिकाको उद्दार गरिने जानकारी दिए । ‘स्थानीय प्रहरी र वडाध्यक्षलाई बोलाएका छौं, अब उनीहरुको उद्दार गर्छौं’ उनले भने ।
बालबालिकाको बाल यौन दूराचार भएको सुन्न आएको भन्दै उनले यस विषयमा अनुसन्धान गर्ने जानकारी दिए । ‘यहाँ बालबालिकाको अवस्था दयनीय देखियो, उनीहरुको कसैले जिम्मा नलिएको देखियो । जिम्मा लिने संस्था सीडीओ कार्यालयमा दर्ता भएको पनि देखिएन’ केसीले भने, ‘एब्युजको कुरा पनि आएको छ, यो गम्भीर हो ।’