मनहरी,२३ साउनः वडाध्यक्षको अगुवाईमा मनहरी–८ देवकोट जाने सडक खण्डको सरसफाई भएको छ ।
८ नम्बर वडाका अध्यक्ष मान बहादुर स्याङ्तान तथा स्थानीयहरुको सक्रियतामा मनहरी–८ सिमपानी देखि देवकोट पुग्ने सडक खण्डमा सरसफाई गरिएको मनहरीबाट जयराम मोक्तानले जानकारी दिएका छन् ।
उनका अनुसार सो सडकखण्डमा भएको विभिन्न अवरोधलाई जेसिवी लगाई सरसफाई गरेको हो । केही साताअघि आएको बाढीका कारण मोटरबाटो छेउछाउमा रहेको नाली पुर्ने, झाडी बाटामै थुप्रिरहेपनि यातायातका साधानहरु जोखिमपूर्ण तरिकाले सञ्चालन भइरहेका थिए । बाटोमा भएको विभिन्न अवरोधहरुलाई हटाए लगत्तै यातायात सञ्चालनमा सहज भएको अध्यक्ष स्याङ्तानले बताए ।
हाल उक्त बाटो हुँदै दैनिक रुपमा बस, अटो तथा साना सवारी साधनहरु सञ्चालनमा रहेका छन् । वर्षाको समय सुरु भएपछि मनहरी खोलामा पानीको बाहव बढेसँगै राक्सिराङ तथा कैलाश गाउँपालिकाका स्थानीयहरुले बैकल्पिक बाटोको रुपमा उक्त बाटोलाई प्रयोग गर्दै आइरहेका छन् ।