हेटौंडा,२२ साउनः नागरिक समाज मञ्च मकवानपुरले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने भएको छ । आज हेटौंडाको बनस्खण्डीस्थित गैसस महांघको सभाहलमा बसेको मञ्चको बैठकले सो निर्णय गरेको हो ।

विगत केही समयदेखि हेटौंडामा डेंगु संक्रमणको बिरामी बढ्दै गएको र सम्बन्धित निकायले आवश्यक मात्रामा नियन्त्रण प्रयास नगरेको भन्दै मञ्चले उपमहानगरपालिका, जिल्ला समन्वय समिति लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने भएको हो ।

मञ्चका अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा बसेको बैठकले डेंगु नियन्त्रणको सवालमा स्थानीय सरकार लगायत सम्बद्ध सरोकार पक्षको ध्यान जान नसकेको पाइएको निश्कर्ष निकाल्दै सो सवाललाई उठाउने निर्णय गरेको हो । साथै, नागरिकका आवश्यक सवालहरुमा स्थानीय तथा जिल्लास्तरमा पैरवी गर्ने र शिक्षा, स्वास्थ्य लगायत नागरिकको आधारभूत आवश्यकता तथा सेवाका विषयमा अनुगमन गर्ने बैठकको निर्णय छ ।

विभिन्न सञ्जालको प्रतिनिधित्व गरी मञ्चमा आबद्ध सदस्यहरु सहभागी बैठकमा डेक नेपालका मानबहादुर लामाले सम्भावित सवालबारे छलफल चलाएका थिए । कार्यक्रममा डेक नेपालका पंकज राज देवकोटाले नागरिक समाज संस्थाको भूमिका, डेक नेपालको परिचय तथा पारस्परिक जवाफदेहिता परियोजनाको कामको प्रकृतिबारे प्रस्तुती दिएका थिए ।