हेटौंडाः धेरै मानिस मसानघाट भन्नासाथ डराउँछन्। कोहीचाहिँ दिउँसै मसानघाट जान पनि धक मान्छन्। तर हेटौंडा उपमहानगरपालिका–१२, चारघरेको एक परिवार भने दुई वर्षदेखि मसानघाटनजिक मलामी बस्ने छाप्रोमा बस्दै आएको छ।
अभाव र समस्याले मान्छेलाई भूत–प्रेतको डरबाट समेत मुक्त गराउँछ भन्ने पुष्टि सो परिवारले गरेको छ। न विद्युत् छ, न खाटपलंग, न खानेपानी नै। एक स्थानीयले आमाको नाममा पानी परेका बेला मलामीलाई बस्नका लागि बनाइदिएको छाप्रोलाई नै उनीहरूले घरको रूपमा प्रयोग गरेका छन्। जस्ता पाताले छाएको सानो छाप्रोलाई खर, पुरानो त्रिपाल, प्लास्टिकले मात्र बेरिएको छ।
परिवर्तन सामुदायिक वनभित्र रहेको मसानघाटनजिकै एक दलित परिवार बस्छ। ६ सदस्यीय परिवारमा आमाबाबु, ११, १० र डेढ वर्षीया छोरी तथा चार वर्षीय छोरा रहेका छन्।
‘यहाँ आएर बसेको दुई वर्ष भयो हजुर,’ ३० वर्षीया पार्वती सुनारले भनिन्, ‘त्यसअघि हेटौंडा–११ दम खोल्सामा बस्थ्यौं, त्यहाँ बस्न नदिएपछि यहाँ आको हजुर। ’ उनीहरू बसेको छाप्रोनजिकै मान्छे जलाउने तीनवटा घाट छन्, जंगलभित्र भएकाले सुनसान ठाउँ छ। छाप्रोवरिपरी नेवार, ब्राह्मण र तामाङ समुदायका छुट्टा–छुट्टै मसानघाट छन्।
बस्न अप्ठ्यारो भए पनि आफ्नो घरजग्गा र कमाई नभएपछि बाध्यताले बस्नुपरेको उनले दुःखेसो पोखिन्। ‘अप्ठ्यारो त छ नि आफ्नो जग्गाजमिन केही छैन, तर के गर्नु बस्नु परिहाल्यो हजुर,’ उनले भनिन्, ‘हामीलाई पनि मन छ नि टाउँको लुकाउने घर बनाउने, छैन के गर्नु। ’
ससाना छोराछोरी मसानघाटछेउ रहेको छाप्रोमा बिहानै छाडेर खानेकुराको जोहो गर्न पतिपत्नी दिनभर श्रम गर्छन्। मेलापात, लेबर काम गरेर तरकारी, चामल, पिठोको जोहो गर्ने गरेको उनले सुनाइन्। ‘पतिले लेबर काम गरेर ५÷६ सयसम्म कमाउनुहुन्छ,’ उनले भनिन्, ‘सानी छोरी दूध खाने भए पनि घरमै छोडेर जानुपर्ने बाध्यता छ, काममा बाधा गरे काम गर्न नबोलाउलान् भन्ने पीर लाग्छ। ’
माइती हेटौंडा–११ स्मारक भए पनि प्रेमविवाह गरेपछि भएका दाजुभाइरुले समेत वास्ता नगरेको भन्दै उनले गुनासो गरिन्। सार्वजनिक जग्गामा बसेका कारण केही स्थानीयले त्यहाँबाट निकाल्छु भन्ने गरेको भन्दै उनले चिन्ता थपिएको सुनाइन्।
वर्षामा पानी परेपछि चुहिएर बस्न निकै कठिन भएको उनको भनाइ छ। ‘झरी परेको बेला पानी चुहिएर बस्न मिल्दैन, बच्चालाई सुतायो, बुढाबुढी त टक्राक–टुक्रुक बस्ने हो रातभर। ’ भूत–प्रेतको भन्दा पनि ‘खराब आचरणका मान्छे’को डर लाग्ने बताउँदै उनले सुरक्षाका लागि सिरानमा हँसिया राखेर सुत्ने गरेको बताइन्।
गाउँघरमा हिंसा, बलात्कारका घटनाबारे सुनेपछि छोरीहरू सम्झेर उनी झनै आत्तिन्छिन्। ‘छोरीमाथि त्यस्तै अन्याय होला कि भन्ने चिन्ताले सताउँछ, तर के गर्नु न सँगै लिएर हिँड्न मिल्छ, न सँगै बसेर खान पाइन्छ,’ उनले भनिन्।
नागरिकता छैन, शिक्षामा पनि समस्या
छोराको मोटरसाइकलकोे ठक्करबाट खुट्टा भाँचिएपछि थप चिन्ता थपिएको छ। छोरा ६ महिना हुँदै अगेनामा परेर टाउँकाको एकभागको कानसम्म खत हेरेर उनको मन कुँडिन्छ। संघसंस्था गुहारेर छोराको उपचार त गरिन् तर छोरा बिरामी भएकैले माइली छोरीले स्कुल जान पाएकी छैनन्। जेठी छोरी बल्ल दुई कक्षामा पढ्छिन्।
‘हामीसँग पैसा छैन, दलितलाई छुट गर्नु न भन्दा मान्दैनन्,’ उनले भनिन्, ‘पोसाक र किताब पनि किन्नुपर्ने भएकाले आमाजुकहाँ राखेर पढाएका छौं। ’ देशको शासनसत्ता, नेता, मन्त्री धेरै फेरिए पनि आफूहरू जस्ताको दुःख भने नफेरिएको उनको भनाइ छ। ‘हाम्रो जीवन दुःखैदुःखमा बित्यो,’ उनले सुस्केरा हाल्दै भनिन्, ‘छोरा–छोरीको भविष्य भने राम्रो बनाउने चाहना छ। ’
अशोकसुजन श्रेष्ठ/नागरिक