हेटौंडा,१७ साउनः मकवानपुर जिल्लाका उद्योगहरुमा कार्यरत १४४ जना मजदुरलाई यसवर्ष जागीरबाट हटाइएको छ । साथै, काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ को प्राप्त विवरण अनुसार हेटौंडा औद्योगिक क्षेत्रमा रहेका युनिक सोप एण्ड केमिकल्स इन्डष्ट्रिज प्रा.लि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट ती मजदुरलाई हटाइएको हो । यस्तै, इनभाइरो प्लाष्ट उद्योगमा कार्यरत एकजना मजदुरको इलेक्ट्रिक सर्ट बाट मृत्यु भएको छ । साथै उद्योगहरुमा कार्यरत मजदुरहरुले आफ्नो हक र अधिकारको लागि व्यक्तिगत तथा सामुहिक रुपमा १०० उजुरी गरेको कार्यालयको विवरणमा उल्लेख छ ।
कार्यालयका अनुसार त्यस उजुरीमध्ये सामुहिक ६ वटा तथा व्यक्तिगत ९ वटा उजुरीको फछ्र्यौट भएको बताइएको छ । कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार चितवन र मकवानपुरमा श्रम कार्यालयमा दर्ता भएका २०६ उद्योग रहेको छ । जसमध्ये मकवानपुरमा ७२ र चितवनमा १३४ उद्योग रहेका छन् । जसमा ५ हजार ७ सय ४३ मजदुर कार्यरत रहेको र उनीहरुको अवस्थाबारे अनुगमन भइरहेको उनले बताएका छन् ।
साथै कार्यालयले सो अवधिमा १३ वटा उद्योगको प्रेसर भेसर निरीक्षण, ७७ वटा उद्योगको पारिश्रमिक लागु गर्ने निरीक्षण तथा १०५ वटा उद्योगको बाल श्रम सम्बन्धी निरीक्षण गरेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।