हेटौंडाः पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६, माकलदमारमा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।
२०७२ को भुकम्पले विद्यालय भवन भत्काएपछि नवनिर्मित ७ कोठे पक्की एक तले भवन र शौचालय एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
भवनलाई राक्सिराङ गाउँपालिका–६ का वडा अध्यक्ष सिंगलाल प्रजा र लिसा हिमालयकी अध्यक्ष डानीला म्यारिङले संयुक्त रुपमा उद्घाटन गरी हस्तान्तरण गरेका थिए ।
लिसा हिमालय ईभी जर्मनीको एक करोड ४० लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग तथा दीगो विकासका लागि एकता नेपालको व्यवस्थापनमा भवन र शौचालय निर्माण गरिएको थियो ।
कार्यक्रममा लिसा हिमालयका कन्ट्री डिरेक्टर स्टेफन स्कोली, कार्यक्रम निर्देशक अञ्जन पौडेल, दीगो विकासका लागि एकता नेपालका अध्यक्ष अच्युतप्रसाद पौडेल, जनसेवा प्राथमिक विद्यालयका अध्यक्ष सन्तबहादुर थिङ, माकलदमार बजुराङ सिदाम टोल बिकास संस्थाका अध्यक्ष दिपेश थिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।