हेटौडा,३१ जेठ । २० औ रुपचन्द्र विष्ट स्मृति दिवसमा श्री लेकाली बसीफाँट माध्यामिक विद्यालयले विद्यार्थी, अभिभावक तथा स्थानीयहरुसँग थाहा आन्दोलनबारे चर्चापरिचर्चा गर्ने भएको छ ।
असार ७ गते स्मृति दिवसलाई मध्यनजर पारेर असार ६ गते सो कार्यक्रम गरिन लागेको उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले जानाकारी दिए ।

आज संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लामाले रुपचन्द्र विष्ट र उनले चलाएको थाहा आन्दोलनबारे नयाँ पुस्तालाई जानकारी दिने उदेश्य मात्र नभएर थाहा आन्दोलनमा लागेका पुराना पुस्ताहरुसँग पनि थाहाको विषयमा परिचर्चा गरिने बताए ।

बसीफाँट माविका प्रधानाध्यापक एल एल मण्डलले विद्यार्थीको सिकाईमा थाहाका दर्शनलाई जोड्ने र समय सान्दर्भिक बनाउने विषयमा आफ्नो धाराणा व्यक्त गरे ।

सो विद्यालयका शिक्षक एस लामाले हेटौडा, काठ्माडौ र थाहा नगरका दुई दर्जन भन्दा बढि स्रष्टाहरुले साहित्य सिर्जनाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा थाहाका अभियान्ता एवम् प्रत्यायोजित समितिका सभापति रामनारायण विडारीको उपस्थिति रहने आयोजकले बताएको छ ।