हेटौंडाः ३ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय आउँदो आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । आगामी बजेट मूलधारका राजनीतिक पार्टीहरुको अवधारणापत्रमा समर्पित हुने बताइएको छ ।
बजेटको तयारीका लागि मन्त्रीदेखि मन्त्रालयका सबै कर्मचारीहरुको दौडधुप र क्रियाशीलता बढेको छ । भुगोल, जनसंख्या, लक्षित समूह लगायत संविधानको मूल मर्म र भावना अनुरुपको बजेट बनेको ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताएका छन् ।
मन्त्री ढुंगेलका अनुसार यस बजेटमा पार्टीले चुनावको बेला गरेको प्रतिबद्धतालाई ख्याल गरिनेछ । विशेष गरी बजेटले आधारभूत वर्गका जनताको आवश्यकता सम्वोधनमा जोड दिने मन्त्री ढुंगेलको दाबी छ ।
चालु आर्थिक वर्षमा पुँजीगत रकम खासै खर्च गर्न नसकेको प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि गतबर्ष भन्दा बढी रकमको बजेट ल्याउने तयारीमा जुटेको बताइन्छ ।
बजेटका लागि सातवटै मन्त्रालयमा पठाइएको बजेट सिलीङ अनुसार आउँदो बर्षभरी गरिने कामका योजना छनौट गरी आईसकेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले बताएका छन् । गतबर्ष समेत समेट्न नसकिएका योजनाहरु बजेटमा समेट्ने तयारी भएको उनले बताए ।
विगतलाई निरन्तरता दिँदै आगामी बजेटमा पनि भौतिक पूर्वाधारकै क्षेत्रमा बढी बजेट खर्च गरिने मन्त्री ढुंगेलको भनाई छ । मन्त्री ढुंगेलका अनुसार आगामी बजेटमा प्रदेशका गौरबका योजनाहरु छनौट गरेर काम गर्ने तयारी छ ।
आगामी असार १ गते ल्याइने बजेटमा चालु आर्थिक बर्षमा भन्दा चालु खर्च समेत बढ्ने अनुमान गरिएको छ ।