हेटौंडा,२७ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव शिवराज रेग्मीले भ्रष्टाचार मौलाउनुमा बौद्धिक वर्ग नै दोषी रहेको बताएका छन् । आज हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उपसचिव रेग्मीले जाने बुझेका व्यक्तिहरुबाट नै भ्रष्टाचार हुने गरेको बताएका हुन् ।

भ्रष्टाचार अन्त्य गर्न घुस दिने काम बन्द गरिनुपर्ने निश्कर्षका साथ अख्तियारले नागरिक समाजको तर्फबाट नेतृत्व गर्ने गरी निगरानी समूह गठन गरेको छ । प्रदेशमै पहिलोपटक मकवानपुरमा गठन भएको सोही निगरानी समूहले आज हेटौंडामा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै उपसचिव रेग्मीले आयोग अहिले आत्मरक्षाको अवस्थामा रहेको बताए । आयोगमाथि नै आरो लागिरहेको अवस्थामा पनि अख्तियार उच्च मनोवलका साथ भ्रष्टाचार निवारणमा क्रियाशील रहेको उपसचिव विष्टको दाबी थियो ।

आयोगले गोप्यतालाई व्यवस्थापन गर्दै भ्रष्टाचार रोक्न लागिपरे दाबी गर्दै उपसचिव रेग्मीले यस अभियानमा आम नागरिकको साथ अपरिहार्य रहेको बताए ।
भ्रष्टाचार विरुद्ध नागरिक सचेतना अभियान अन्तर्गत भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष देव श्रेष्ठले संस्थाको बारेमा जानकारी गराउँदै कार्यक्रम तथा आगामी योजनाबारे स्पष्ट पारे ।
अध्यक्ष श्रेष्ठले भ्रष्टाचार निवारणको लागि निगरानी, खबरदारी गर्न संस्था निरन्तर लागिरहने जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्टले भ्रष्टाचार निवारणको लागि जीवन शैली सरल हुनुपर्ने धारणा राखे ।

पछिल्लो समय मानिसहरुको भड्कीलो जीवनशैली रहेको औंल्याउँदै उनले सरल बनाउन धेरै गाह्रो हुन थालेको बताए । समाजमा निष्ठाको खडेरी देखिएका अध्यक्ष बिष्टको ठहर छ । अख्तियारमा फर्जी मुद्दाको चाङ्गलाई नियन्त्रण गरेर, उजुरीमै छुट्याएर काम सुरु गर्नुपर्ने उनको सुझाव छ । झुटा मुद्दाका कारण कतिपय सर्वसाधारण अख्तियार झेल्न बाध्य भएको र त्यसले केही इमान्दार मानिसहरुलाई पनि समस्यामा पारेको उनको भनाई छ ।

आयोगका उपसचिव रेग्मीले फर्जी मुद्दालाई स्कृनिङ्ग कमिटीले काम गर्ने गरेको बताए । उजुरीकर्ताको सुरक्षाको व्यवस्था नभएकोले बेनामी उजुरी लिन पर्ने बाध्यता रहेको उनले बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले भ्रष्टाचारको शैली फेरिएको बताए । नीतिगत रुपमा हुने भ्रष्टाचारलाई रोक्नुपर्ने अध्यक्ष हुमागाईंको जोड थियो । कार्यक्रममा निगरानी संस्थाका पदाधिकारीहरु, सदस्यहरु र जिल्लामा क्रियाशील पत्रकाहरुको उपस्थिति रहेको थियो ।