हेटौंडा,१७ जेठः पसल चोरी भयो भन्दै प्रहरीलाई झुक्याएको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाका घिमिरे इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिकका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी आरोपित घिमिरेलाई प्रहरीले सार्वजनिक गरेको हो । घटनाबारे जानकारी दिँदै मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले बैंकको ऋण तिर्न तथा विमा रकम प्राप्त गर्नको लागि योजनाबद्ध रुपमा पसलमा चोरी भयो भनी भ्रम छरेको पाइएको बताए । उनले चोरी गरेको सामग्रीहरु हेटौंडा–४, पारिजातपथमा एक घरबाट प्रहरीले बरामद गरेको छ ।
सञ्चालक घिमिरेले गत जेठ ११ गते आफ्नो पसल चोरी भएको र पसलबाट ३ लाख १२ हजार नगद सहित ३२ लाख ९३ हजार २ सय ८४ रुपैयाँ बराबरको इलेक्ट्रोनिक सामग्री हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए ।
उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीलाई पसल सञ्चालकमाथि नै शंका लागेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(डिएसपी) यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अनुसन्धान अघि बढाउँदा घिमिरे स्वयमले सामान लुकाएर चोरी भयो भन्दै भ्रम फिँजाएको पाईएको प्रहरीले जनाएको छ ।
उनले लिएको ५० लाख रुपैयाँ ऋण तिर्नको लागि बैंकले निरन्तर ताकेता गरेपछि उनले यस्तो योजना बनाएको देखिएको डिएसपी भट्टराईले जानकारी दिए ।