हेटौंडा,१६ जेठः
मकवानपुरका घरजग्गा व्यवसायीहरु संगठित रुपमा अघि बढ्ने भएका छन् । छरिएर आफ्नो व्यवसाय गर्दै आएका व्यवसायीहरु एउटै छाता संगठनमा रहेर व्यवस्थित रुपमा अघि बढ्ने योजनाका साथ भेलाको तयारीमा जुटेका हुन् ।

जिल्लाभित्र हुने हरेक सामाजिक एवम् राजनीतिक काममा आफूहरुलाई सम्झिएपनि व्यवसायीमाथि हेर्ने दृष्टिकोेण भने राम्रो नभएको सन्दर्भमा भेलाले यस पेशालाई मर्यादित तथा व्यवस्थित बनाउने उनीहरुको ठहर छ ।

आज बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबार हुने भेला तथा भेलाको महत्वबारे व्यवसायीले जानकारी गराएका हुन् । करोडौं लगानी गरेर आफुहरुले घर जग्गाको काम गरेको भएपनि यस क्षेत्रलाई स्थानीय सरकारले सहयोग नगरेको उनीहरुको आरोप छ । सरकारले कित्ता काट गर्न सहयोग नगर्दा आफूहरु समस्यामा परेको व्यवसायी कमल मैनालीले बताए ।

शनिबार हेटौंडामा हुने ३०० जनाभन्दा बढी व्यवसायीहरुको भेलाले मकवानपुर घर जग्गा व्यवसायी संघ गठन गर्ने र विधिवत रूपमा अघि बढ्ने संयोजक ध्रुव घिमिरेले बताए ।