हेटौंडाः विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण मनहरीको जनजीवन प्रभावित बनेको छ ।

मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरीमा बन्दले जनजीवन प्रभावित बनेको हो ।
बन्दका कारण मनहरीका विभिन्न सामुदायिक तथा निजी विद्यालय, विभीन्न कार्यालय तथा व्यापारिक क्रियाकलाप प्रभावित भएको मनहरीबाट जयराम मोक्तानले जनाएका छन् । बन्दका कारण बजारका सबै पसलहरु बन्द रहे । त्यसैगरी विद्यलय सञ्चालन हुने आशामा केही विद्यार्थीहरु विद्यालय पोसाकमा सजिएर गाडीको प्रतीक्षा गरे पनि बन्दका कारण विद्यालयका गाडी तथा अन्य सवारी साधनहरु सञ्चालनमा नआएपछि विद्यार्थीहरु घर फर्किए ।


स्थानीय रुट तथा लामो रुटमा सञ्चालन हुने सवारी साधनहरु बिहानैदेखि पार्किङस्थलमा पार्क गरेर राखिएपछि यात्रुहरु मारमा परे । कैलाश तथा राक्सीराङ गाउँपालिकाका विभिन्न स्थानबाट अत्यावश्यक काम लिएर मनहरी बजार आइपुगेका केही व्यक्तिहरु बन्दका कारण घर मारमा परे । गाडी तथा पसलहरु बन्द भएपछि मनहरी बजार आज सुनसान रह्यो ।


बन्दको प्रभाव पुर्णरुपमा परे पनि मनहरी क्षेत्रमा कुनै अप्रिया घटना भने नघटेको ईलका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख बिरेन्द्र पनेरुले जानकारी दिए । मनहरीको आसपासमा बन्दको समयमा बन्द गराउँदै हिड्ने कुनै पनि व्यक्ति सडक तथा अन्य क्षेत्रमा प्रत्यक्ष रुपमा नदेखिएको तर बजार तथा सवारी साधन भने पुर्णरुपमा बन्द भएको प्रहरी प्रमुख पनेरुले जानकारी गराए ।