हेटौंडा,१३ जेठः आफ्नो कार्यकर्ताको हत्या भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विगतभन्दा अझ आक्रमक रुपमा प्रस्तुत भएका छन् ।
सो पार्टीले कार्यकर्ता हत्याको बिरोध गर्दै आज आह्वान गरेको बन्दका क्रममा मकवानपुरका विभिन्न ठाउँमा त्रासदीपूर्ण गतिविधि गराएका हुन् ।
बन्दका कारण जिल्लामा उद्योग, कल कारखाना, शैक्षिक संस्था लगायत पूर्ण रुपमा ठप्प भएका छन् । बन्दका क्रममा मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा आज एउटा मालबाहक सवारीमा आगजनी गरिएको छ ।
थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आईचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए ।
त्यस्तै, बन्द सफल गराउन भन्दै हेटौंडाको चौकीटोलमा एउटा ट्रकमा आगजनी गरिएको छ । चौकीटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए । आगजनीले गाडीमा पूर्ण क्षति गराएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ एचआईडीमा शंकास्पद बस्तु फेला परेको छ । खतरा लेखेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रसित भएका थिए ।
हेटौंडा बजारको केन्द्रमा रहेको बुद्धचोक नजिकै दुईवटा प्रेसर कुकर बम फेला परेको छ । बमलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले डिस्पोज गराएको हो । स्थानीयले जानकारी गराएपछि प्रहरीले उक्त स्थानमा बम रहेको थाहा पाएर सेनालाई खबर गरेको थियो ।