हेटौंडा,३० बैशाखः नेपाल लगायत विकासका दृष्टिले पछाडी परेका विश्वका अधिकांश मुलुकहरुमा सडकमा हुने दुर्घटना कम गराउने लक्ष्य असफल प्रायः भएको छ ।
सन् २०११ मा लिइएको लक्ष्य अनुसार सन् २०२० सम्ममा सडक दुर्घटना ५० प्रतिशतले घट्नुपर्नेमा अवस्था उस्तै रहन पुगेको हो । जानकारहरुका अनुसार दुर्घटना दर वर्षेनी घटबढ या तलमाथि भएपनि समग्रमा यो दर घट्नुको साटो झनै बढी देखिएको हो ।
नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७४/७५ मा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार एकसय ९५ रहेको छ, भने विश्व स्वास्थ्य संगठनको अनुमानले यो संख्या ४ हजार ६ सय २२ उल्लेख गरेको छ । स्वास्थ्यका विश्वव्यापी तथ्यांकको अर्को भरपर्दो स्रोत ग्लोबल बर्डन अफ डिजिज (जीबीडी) अध्ययनले यो संख्या ६ हजार ७ सय ६५ सम्म भएको उल्लेख गरेको छ ।
दुर्घटनामा ६० प्रतिशत भन्दा बढी उत्पादनशील उमेरका मानिसको मृत्यु हुने गरेको देखिन्छ । अधिकांश युवावस्थाका व्यक्तिको मृत्यु तथा घाईते र अपांगता हुँदा उनीहरुको परिवारमा गरिबीको समस्या देखिने गरेको पाईन्छ ।
प्रतिवेदनहरूका अनुसार नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूमा सडक दुर्घटनाका मृतकमध्ये सबैभन्दा बढी पैदल यात्री र साइकल यात्रीहरू रहने गर्छन् ।
सडक सुरक्षा सप्ताहका अवसरमा पत्रकारहरूका लागि आयोजित कार्यशालामा सो तथ्यांक सार्वजनिक गरिएको हो । नेपाल लगायत विश्वमै निरन्तर बढीरहेको सडक दुर्घटनाको नियन्त्रण तथा रोकथाममा विश्वव्यापी समर्थन जुटाउन र सडक सुरक्षाका लागि जिम्मेवार र नेतृत्वदायी भूमिका अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
यही वैशाख २३ गतेदेखि २९ गतेसम्म विश्वव्यापी रूपमा पाँचौं सडक सुरक्षा सप्ताह मनाइएको थियो । ”स्पीक अप, सेभ लाइभ्स” (जीवन रक्षाका लागी आवाज उठाऔं) भन्ने नाराका साथ यसवर्ष सडक सुरक्षा सप्ताह मनाइएको हो ।
नेपाल इन्जरी अनुसन्धान केन्द्र (एनआइआरसी)ले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा सडक दुर्घटनासँग सम्बन्धित विषयमा पत्रकारहरूका लागि कायर्शालाको आयोजना गरेको थियो ।
दुर्घटना कम गराउनेतर्फ जिम्मेवार निकायहरुको ध्यान नपुग्दा दुर्घटनामा कमी आउन नसकेको यस क्षेत्रका जानकारहरुको दाबी छ । सम्बन्धित निकाय जिम्मेवार हुने हो भने दुर्घटना कम गर्न सकिने र त्यसले आर्थिक तथा सामाजिक रुपमा सकारात्मक प्रभाव पार्न सहयोग गर्ने जानकारहरु बताउँछन् ।