हेटौंडा,२९ वैशाखः विश्वमै निरन्तर बढीरहेको सडक दुर्घटनाको नियन्त्रण तथा रोकथाममा विश्वव्यापी समर्थन जुटाउन र सडक सुरक्षाका लागि जिम्मेवार एवम् नेतृत्वदायी भूमिका अभिवृद्धि गराउने उद्देश्यका साथ वैशाख २३ गतेदेखि २९ गतेसम्म विश्वव्यापी रूपमा पाँचौं सडक सुरक्षा सप्ताह मनाइरहँदा हेटौंडामा पत्रकारहरुका लागि कार्यशालाको आयोजना भएको छ ।
‘स्पीक अप, सेभ लाइभ्स’ (जीवन रक्षाका लागी आवाज उठाऔं) भन्ने नाराका साथ दिवस मनाउने क्रममा सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन आज हेटौंडामा पत्रकारहरुका लागि कार्यशाला भएको हो ।
दिवसका अवसरमा नेपाल इन्जरी अनुसन्धान केन्द्र (एनआइआरसी)ले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा धुलिखेल र हेटौंडामा सडक दुर्घटनासँग सम्बन्धित विषयमा पत्रकारहरूका लागि कायर्शालाको आयोजना गरेको हो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुधांशु दाहाल, विश्व स्वास्थ्य संगठनका फोकल पर्सन डा. केदार मरहट्टा, स्वास्थ्य मन्त्रालयका डा. उत्तम घिमिरे र पत्रकार गजेन्द्र बुढाथोकीले वर्तमान परिस्थितिमा सडक सुरक्षालाई हेर्ने विश्वव्यापी दृष्टिकोण र त्यस सम्बन्धी सामग्री तयार पार्दा कुन–कुन एंगलबाट कभर गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।
सहभागीहरूलाई समूह विभाजन गरी समूह कार्य पनि गरिएको थियो । जसमा पत्रकार स्वयम् वा नजिकैका व्यक्तिहरूले उनीहरूको दैनिक कार्य शिलशिलामा यात्रा गर्दा आइपर्ने समस्याहरू र तिनको समाधानका लागि सहभागीहरूकै के–के माग छन्, भन्ने बेग्लाबेग्लै सूची बनाइएको थियो ।
कार्यक्रमले पत्रकारहरूका लागि सामग्री बनाउने नयाँ अयाम प्रदान गर्नका साथै सरोकारवालाहरूलाई समस्याको समाधानका लागि जिम्मेवार नेतृत्वलाई थप उत्तरदायी बनाउन मद्दत पुग्ने आयोजकको अपेक्षा छ ।
कार्यशालामा मन्तव्य राख्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडामा तीव्र दरले बढीरहेको यातायातका साधन र सडक प्रयोगकर्ताको संख्याले सडकमा घाइते हुने र दुर्घटनामा ज्यानै गुमाउनेको संख्या बढीरहेकोमा चिन्ता व्यक्त गरे । नगरपालिकाले सबै सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चत गर्न सरकार तथा गैरसरकारी सबै स्थानीय सर्वसाधारणसँगको सहकार्यलाई प्राथिमकता दिने संकल्प समेत गरे ।

उनले नगरभित्र रहेका सबै विद्यालयहरूसँग समन्वय गरी फुटपाथ नभएका सबै विद्यालका बालबालिकाहरूलाई पैदल हिँड्दा उनीहरूको सुरक्षा सुनिश्चत गर्न सडकको दाँया पट्टीबाट हिँड्ने व्यवस्था मिलाउने र विद्यालय वरपर पार्किङ व्यवस्थापन गर्ने समेत प्रतिबद्धता जनाए ।
हेटौंडा उपमहानगरपालिका स्वास्थ्यका फोकल पर्सन सुपेन्द्र कार्की, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासंघका जिल्ला अध्यक्ष हरि हुमागार्इं लगायत २२ जना स्थानीय पत्रकारहरू कार्यक्रममा सहभागी थिए ।
कार्यशालाको औचित्यबारे प्रकाश पार्दै अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले काठमाडौं र हेटौंडामा संचालन गरिएका कार्यशाला र सहभागीहरूसँगको सहकार्यका आधारमा भविष्यमा यस किसिमका कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने थाहा पाउन मद्दत पुगेको बताए । उनले अधिकांश सहभागीहरूले गरीरहेको रिपोर्टिङको गुणस्तरमा निकै प्रगति भएको समेत बताएका थिए ।