हेटौंडा,२९ वैशाखः सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशतसम्म छुट दिने भनी केही समयअघि सर्वपक्षीय सहमति जुटेपनि सो निर्णयको कार्यान्वयन नभएको भन्दै त्यस्ता सवारी साधनलाई आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन परेको छ ।
मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी रामकृष्ण शिवाकोटीले आज जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख आस्मान तामाङलाई विद्यार्थी छुट सम्बन्धी निर्णय कार्यान्वयनको माग गर्न निवेदन गरेका हुन् । विद्यार्थीलाई पोशाक तथा परिचयपत्रको आधारमा छुट दिने निर्णय भएपनि सवारी चालकहरुले उक्त निर्णयलाई अटेर गरेकोमा त्यस्तालाई कारबाही गरी निर्णय कार्यान्वयन गर्न तथा विद्यार्थीलाई सहुलियत प्रदान गर्न निवेदनमा अनुरोध गरिएको छ ।