हेटौंडा,२१ वैशाखः पारिजात स्मृति विशेष कार्यक्रमको अवसरमा हेटौंडामा आज नुवाकोटका कविद्वय सुमित्रा सुमी र सुविन रिमाल (प्रशान्त)ले आफ्नो प्रस्तुती दिएका छन् ।

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा कविद्वयले आफ्ना छन्द कविताहरु प्रस्तुत गरेका हुन् । आमाको मुख हेर्ने दिनको अवसर पारेर आँचल साहित्य कला पुञ्जले आमाछोराको सृजना प्रस्तुतीको कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा दुबै कविले आफ्ना कविता कृतिभित्र समेटिएका छन्द कविताहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले विशेष दिनमा आँचलले यस्तो साहित्यिक कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिका साहित्यको विकासका लागि तयार रहेको बताइन् ।

दुई कविका छन्द कविताका अतिरिक्त आँचल साहित्य कला पुञ्जका संस्थापक अध्यक्ष मुना अर्यालले आमाको सम्झना गर्दै कार्यक्रममा कविता प्रस्तुत गरेकी थिइन् । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा मकवानपुर तथा छिमेकी जिल्लाहरुबाट साहित्यकार र साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।