हेटौंडा,२० बैशाखः भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाको नेतृत्वमा राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील भिमफेदीका महिला नेतृहरुले सो गाउँपालिका–५ र ६ का ३६ जना आमाहरुलाई आज सम्मन गरेका छन् ।
मातातिर्थ औँसीको अवसर पारेर सो क्षेत्रका जेष्ठ नागरिक आमाहरुलाई महिला नेतृहरुले फलफूल, मिठाई तथा एकजोर कपडा दिएर खादा ओढाई सम्मान गरेका हुन् । भीमफेदीमा रहेको महिला जागृति साकोसको हलमा आयोजित कार्यक्रममा सहभागी आमाहरुलाई फलफूल, मिठाई तथा दहि चिउरा खुवाइ साडी दिइएको थियो ।
आमा खुवाउने औँसीको अवसरमा धेरै आमाहरुलाई एकसाथ खुवाउन पाएकोमा आफूहरुलाई खुसी लागेको गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बताईन् । “पहिलो पटक हामीले भीमफेदीका दुई वडाबाट आमा सम्मान कार्यक्रम सुरु गरेका छौँ, आगामी दिनहरुमा गाउँपालिका भरि नै सामाजिक अभियानको रुपमा लैजाने छौंँ”, उपाध्यक्ष रानाले भनिन् ।
कार्यक्रममा सहभागी आमाहरुलाई सम्बोधन गर्दै नारी सीप सृजना केन्द्रकी कोषाध्यक्ष मीना अर्यालले आमाहरुको सम्मान गर्ने संस्कारलाई निरन्तरता दिनुपर्ने बताइन् । आफ्नो भोगाई, अनुभव सुनाउँदा गहभरी आँसु पार्दै उनले आफ्नो आमा नभएको पीडा व्यक्त गरिन् । साथै उनले सबै आमाहरु आफ्नै आमासमान भएकोले सामुहिक रुपमा भेट हुँदाको खुशी पनि व्यक्त गरिन् ।
भीमफेदीस्थित चण्डेश्वरी महिला साकोसका सचिव सुमित्रा श्रेष्ठले आमाहरुले आफ्नो छोराछोरी बुहारीबाट एक्लो हुन नपरोस्, सबै आमाहरुले आफ्ना सन्तानबाट माया र सम्मान पाउन् भनी औँसीको शुभकामना दिइन् । केहीदिन अघि निधन भएको आफ्नो आमालाई स्मरण गर्दै उनले आमाबाट टाढा हुँदाको पीडा साह्रै नरमाइलो हुने अनुभव सुनाइन् । कार्यक्रममा भीमफेदी गाउँ कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, सहकारीकी व्यवस्थापक कोपिला थापा लगायतको उपस्थिति रहेको थियो ।