हेटौंडा,२० बैशाखः भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सो गाउँपालिकामा भ्रष्टाचार नभएको देखिनु खुशीको कुरा भएको बताएका छन् ।
आज भीमफेदीस्थित गाउँपालिका सभाहलमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागीहरुलाई सम्बोधन गर्दै उनले सो क्षेत्रका नागरिकको तर्फबाट यस्तो प्रतिक्रिया पाउनु गाउँपालिकाको नीम्ति ठूलो उपलब्धीको विषय रहेको बताए ।
सार्वजनिक सुनुवाईका लागि एक संस्थाले सेवाग्राही नागरिकसँग लिएको अन्तरवार्तामा सेवा प्राप्तिका लागि अतिरिक्त शूल्क कसैले पनि तिर्नु नपरेको जवाफ प्राप्त भएको देखिएको थियो । गाउँपालिकालाई भ्रष्टाचार शून्य बनाउने आफ्नो प्रतिबद्धता रहेको भन्दै अध्यक्ष लामाले कोहीपनि सर्वसाधाणले अतिरिक्त शूल्क नतिरेको प्रतिक्रियाले खुशी मिलेको बताएका हुन् ।


देशमा दिनानुदिन ठूल्ठूला भ्रष्टाचार र विभिन्न काण्ड आइरहँदा गाउँपालिकाले भ्रष्टाचार शून्य सन्देश दिन सक्नु आफूहरुका लागि खुशीको कुरा भएको अध्यक्ष लामाको टिप्पणी थियो ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले कर्मचारी अभावका कारण न्यायिक समितिको काम हालसम्म हुन नसकेको बताइन् । इजलास बनाउन नसक्दा सेवाग्राहीलाई सेवा दिने वातावरण नभएको उपाध्यक्ष रानाको भनाई छ ।


हालसम्म न्यायिक समितिमा ५५ वटा मुद्दा प्राप्त भएको पनि उपाध्यक्ष रानाले जानकारी गराइन् । कर्मचारीका लागि प्राप्त जिज्ञासामा भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले प्रशासन निरन्तर सुधारको क्रममा रहेको जानकारी गराए । कतिपय काम कानूनी समस्याका कारण रोकिएको र कतिपय सुधार गर्न सकिने काम नागरिकको सुझाव अनुसार सुधार गर्दै जाने प्रशासकीय अधिकृत कुँवरको भनाई छ ।


कार्यक्रममा शिक्षा, स्वास्थ्य, सूचना संचार लगायत क्षेत्रका जिम्मेवार अधिकारीले जनशक्ति अभाव, भौगोलिक संरचना, स्रोत साधनको सिमितता जस्ता कारण यथेष्ट सेवा प्रदानमा बाधा रहेको र नागरिकको सुझाप अनुसार सक्दो सुधार गर्दै लैजाने बताए ।
सार्वजनिक सुनुवाईमा बहिर्गमितको अभिमत, नागरिक प्रतिवेदन लगायत आधारमा महेश आचार्यले स्थानीय नागरिकको मत समेटिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । साथै, कार्यक्रममा सहभागीहरुको मत लिएर जिम्मेवार निकायबाट जवाफ खोजिएको थियो ।
कार्यक्रममा भीमफेदीका सुरेन्द्र थिकेले स्वास्थ्यको समस्या र स्थानीय तहमा काम गर्ने गैससको पारदर्शिताबारे प्रश्न गरे । त्यसैगरी भीमफेदी–९, का अमृत चिमरियाले सो क्षेत्रको खानी र त्यसबाट गाउँपालिकाले पाउने सुविधाको बारेमा जिज्ञासा राखे । उनले गाउँपालिकामा उपलब्ध पशु चिकित्सक र किसानलाई प्रदान गर्न सकिने सेवाबारे पनि जिज्ञासा राखेका थिए ।


स्थानीय सानु थापाले गाउँपालिकामा हेल्प डेस्कको आवश्यकता औंल्याए । उनले गाउँपालिकामा हुने फरम्याटहरु सहज र सबैले बुझ्न सकिने खालको हुनुपर्ने पनि बताए । योजना बनाउँदा आवश्यक बजेट अनुमान गरेर मात्र बजेट विनियोजन गर्न उनको सुझाव थियो । त्यस्तै, भीमफेदी–३, का विशु सुनारले बाटो खन्ने नाममा बन फडानी भैरहेको र कतै वृक्षरोपण नभएएकोमा गाउँपालिकाको ध्यानाकर्षण गराए ।


कार्यक्रममा सहभागी सर्वसाधारणले कार्यालयमा कर्मचारी र जनप्रतिनिधिको उपस्थिति, उनीहरुको कार्यशैली, वडा कार्यालय, गाउँमा जनप्रतिनिधिको उपस्थिति, गाउँपालिकामा हुने योजना र कार्यान्वयनको पाटोमा प्रश्नहरु गरेका थिए । साथै, केही सहभागीले सार्वजनिक सुनुवाईलाई नै अझ व्यापक बनाउन र आम जनतामा पुग्न तथा अझ पारदर्शी गराउन आग्रह गरेका थिए ।