हेटौंडाः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

मकवानपुरको हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औं स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा दिगो विकासका लागि सरकार गम्भीर रहेको भन्नुभयो । उहाँले शिक्षालाई बिकृति विसंगतीबाट टाढा राखी गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ भन्नुभयो । 

साथै उहाँले शिक्षा क्षेत्रमा लागेका शिक्षक, व्यवसायी र विद्वानहरु निष्पक्ष रुपमा व्यवसायिकभन्दा गुणस्तरीय शिक्षामा जोड दिन पनि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले सो विद्यालयका पूर्व शिक्षक कौशलराज पाण्डे लगायत व्यक्तित्वहरुलाई सम्मानित समेत गर्नुभयो । 

सोही अवसरमा प्रदेश ३ का सांसदद्वय प्रेमबहादुर पुलामी र इन्द्रबहादुर बानियाँले पनि नेपालमा शिक्षाको विकास राम्रोसँग भइरहेको उल्लेख गर्दै थप गुणस्तरीय एवम् प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक जयराम थापाले पनि आफ्नो विद्यालयको बारेमा जानकारी दिनुभयो ।