हेटौंडा,२२ चैत्रः मकवानपुरको पश्चिम भागमा रहेको मनहरी गाउँपालिकाकोे चौथो गाउँ परिषद् आज सम्पन्न भएको छ । परिषद्मा पेश भएका ४ वटै ऐन सर्वसम्मत रुपमा पास भएका छन् ।

बिधेयक समितिका संयोजक तथा २ नम्बर वडाध्यक्ष बिर बहादुर घालनले प्रस्तुत गरेको सबै बिधेयक तथा ऐनहरुलाई कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले सहमत हुँदै पास गराएका हुन् ।
गाउँ परिषद्मा समाज सुधार ऐन, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, आर्थिक ऐन संशोधन तथा हालसम्मको प्रगति विवरणबारे छलफल गरेको थियो । पास भएका ऐनहरु राजपत्रमा प्रकाशन भएपछि लागु हुने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जनाकारी दिए ।

समाज सुधारतर्फ गाउँपालिकाकाले बिबाह गर्दा नातेदार सहित ५१ जनाभन्दा बढी जन्ती तथा भोज भत्तेर सहभागी गराउन नपाउने प्रावधान राखिएको छ । धार्मिक स्थल विद्यालय तथा सार्वजनिक स्थलको ५ सय मिटर वरपर मदिरा तथा सुर्तिजन्य पदार्थ प्रयोग तथा बेचबिखन गर्न नहुने र साँझा ५ बजे देखि ८ बजेसम्म मात्रै मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार गर्ने पाउने ऐनमा उल्लेख गरिएको छ । गाउँपालिकाले केही समयअघि जुवा मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै वडामा अभियान सञ्चालन गरेको थियो ।

स्वास्थ्यतर्फ गाउँपालिकाको स्वीकृतिमा संचालन हुने १५ शैयासम्मको अस्पतालले कम्तीमा एक जना डाक्टर, ४ जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियन तथा आवश्यक कर्मचारी राख्नु पर्ने प्रावधान राखिएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले चालु आर्थिक वर्षको फाल्गुन मसान्त सम्मको प्रगति विवरण प्रस्तुत गरिन् । गाउँपालिकामा आयोजना संख्या ४ सय ६३, पूँजीगततर्फ आयोजना संख्या २ सय ३१ तथा चालु तर्फका कार्यक्रम २ सय ३२ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाउँ परिषद्को शून्य समयमा बोल्दै ८ नम्बर वडाका सदस्य पुष्कर सुबेदीले ८ नम्बरमा सञ्चालित क्रशरले त्यहाँका विभिन्न स्थानमा प्रदुषणका साथै विभिन्न सामाजिक समस्याहरु उत्पन्न भइरेहको बताए । त्यसैगरी सार्वजनिक खरिद ऐनमा घोटाला भएको समेत आशंका गरे भने ढुङ्गा गिट्टी तथा बालुवाको कर संकलन स्थलको प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट तथा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं लगायतको उपस्थिति रहेका थिए ।