हेटौंडाः नेपालको वर्तमान संविधानले महिलाको हक अधिकारको लागि व्यवस्था गरेको भएपनि व्यवहारमा नआएकोले त्यसलाई कार्यान्वयन गर्नेतर्फ प्रदेश ३ का सांसदहरुले प्रतिबद्धता जनाएका छन् ।
संकल्प ३ नम्बर प्रदेश सञ्जालले आज हेटौंडामा आयोजना गरेको प्रदेश तहमा महिला अधिकार सुनिश्चितताको सवालमा सांसदहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
महिला सशक्तिकरण, महिलामाथिको हिंसा अन्त्य, महिलाको राजनीतिक अधिकार, सुरक्षा र शिक्षाको सवालमा ऐन कानून बनाउनेतर्फ सांसदहरुले जोड दिनुभयो । कार्यक्रममा बोल्दै प्रदेश सांसद प्रेमबहादुर पुलामीले समाजमा पीडित एवम् उपेक्षित एकल महिलालाई राज्यबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेश सांसद इन्द्रबहादुर बानियाँले आफ्नो पार्टी नेपाली कांग्रेसले महिलालाई विशेष ग्राहयता दिएको उल्लेख गर्दै महिलाको अधिकारको लागि प्रदेश ३ को संसदमा आफूले पटक पटक आवाज उठाउँदै आएको स्मरण गराउनुभयो ।
त्यसैगरी प्रदेश सांसद रिना गुरुङले महिलाको शिक्षा, स्वास्थ्य र रोजगारीको लागि सबै राजनीतिक दल एक हुनुपर्ने र ऐन कानून बनाउनमा पनि कुनै किसिमको भेदभाव नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।
आयोजक शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला संजाल, संकल्प प्रदेश ३ का अध्यक्ष पानमाया तामाङको अध्यक्षताका कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश उपाध्यक्ष विष्णुमाया पाण्डेले संकल्पको बारेमा जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा राससका झा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, सञ्जालका सचिव लक्ष्मी प्रधान लगायत सञ्जालका प्रतिनिधि उपस्थित थिए । भेलाले क्रियाशील पत्रकार महिलाकी अध्यक्ष रेश्मी कार्कीको अध्यक्षतामा संकल्प मकवानपुर जिल्ला सञ्जाल गठन गरेको छ ।