हेटौंडा,१६ चैत्रः नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गर्ने उद्देश्यका साथ ३ नम्बर प्रदेश सरकारले सञ्चालन गर्न लागेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम भोली आईतबारबाट सुरु हुने भएको छ ।

हेटौंडा अस्पतालमा भोली बिहान मुख्यमन्त्रीले जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्ने तयारी भएको आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले प्रदेश सरकारले पाईलट प्रोजेक्टको रुपमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा यो सेवा सुरु गर्न लागेको जानकारी गराएका हुन् ।


हेटौँडा उपमहानगरपालिका भित्रका १९ वटै वडाबाट कम्तीमा २ हजार जनाले पहिलो चरणमा सेवा प्राप्त गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष पौडेलले बताएका छन् । गत माघ २४ गतेको मन्त्रिपरिषद्बाट पारित कार्यविधि अनुसार यसवर्ष ३ नम्बर प्रदेशका ५ वटा जिल्लामा रहेका जिल्ला अस्पतालबाट सेवा सुरु हुने बताइएको छ ।

नगरका वडा कार्यालयले सिफारिस गर्दा स्वास्थ्य परीक्षण गर्ने मितिसमेत तोकेर सिफारिस गर्ने र दैनिक ३० जनासम्मको मात्र परीक्षण गर्ने भएकाले लाइनमा बस्नुपर्ने समस्या नरहने अस्पतालले जनाएको छ ।

चालू आर्थिक वर्षमा ३० वर्षभन्दा माथिका विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिने बताइएको छ ।
सम्बन्धित वडाको सिफारिसका आधारमा लक्षित वर्गका नागरिकले अस्पतालबाट १६ प्रकारको जाँच सेवा निःशुल्क पाउनेछन् ।