हेटौंडा,१५ चैतः ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले एकसय १८ वर्ष लामो इतिहास बोकेको गोरखापत्रको संरचनालाई प्रादेशिक संरचनामा लैजानुपर्नेमा जोड दिएका छन् । साथै उनले गोरखापत्रलाई जनमुखी, प्रतिस्पर्धी र विश्वशनीय बनाउनुपर्ने समेत बताएका छन् ।
गोरखापत्र संस्थानले हेटौंडामा आजबाट सुरु गरेको दुई दिने प्रदेशस्तरीय पत्रकारिता तालिमको उद्घाटन गर्दै सभामुख श्रेष्ठले गोरखापत्रलाई पत्रकारिताको मियोको रुपमा लैजानुपर्ने आग्रह गरेका हुन् ।
नेपाली पत्रकारिताको धरोहरको रुपमा रहेको गोरखापत्रको बारेमा बोल्दै सभामुख श्रेष्ठले गोरखापत्रले देशको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबै पक्षलाई समेटेर आफ्नो समाचारको माध्यमबाट देशको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् । साथै, उनले गोरखापत्रले आफ्नो आर्थिक र प्राविधिक क्षमताको विकास गरी प्रदेश सरकारले गरेको निर्णय र कामहरुको आफ्नो कलमबाट सल्लाह र सुझाव दिनुपर्ने र जनतासम्म पु¥याउनुपर्ने आवश्यकताबारे प्रष्ट्याए ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्ण मुरारी भण्डारीले बदलिँदो परिस्थिति र प्रतिस्पर्धाको वर्तमान परिस्थितिमा गोरखापत्रलाई पठनीय बनाउँदै यसको गरिमा कायम गराउनेतर्फ लाग्न सहभागीहरुलाई आग्रह गरे ।
गोरखापत्रका प्रधान सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रलाई आत्मनिर्भर र पठनीय समाचार बनाउनेतर्फ संस्थान लागिपरेको जानकारी दिए । गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रशिक्षक शरच्चद्र वस्तीले पनि गोरखापत्रको अवस्थाबारे जानकारी गराएका थिए । तालिममा १९ जनाको सहभागिता रहेको छ ।