हेटौंडा,७ चैत्र । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उद्घाटन खेलमा आयोजक मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुरले मच्छिन्द्र क्लबको चुनौती २–१ गोलअन्तरले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा अग्रता भने मच्छिन्द्रले लिएको थियो । मच्छिन्द्रको तर्फबाट मोमिया मोहम्मदले हेडमार्फत् गोलको खाता खोलेका थिए । उनले १६ औं मिनेटमा अजित गुरुङको क्रसमा हेड गोल गरेका थिए । खेलको ३० औं मिनेटमा काजिमले मकवानपुरको तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ६३ औं मिनेटमा काजिमले मकवानपुरका लागि निर्णायक गोल गरेका थिए । काजिम खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपियाँ हात पारे ।
प्रतियोगिताअन्तर्गत शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच खेल हुनेछ । प्रतियोगिता उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिता फाइनल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ ।जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन सरोहमा अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा भएको थियो ।