हेटौंडाः गत शुक्रबार राती हेटौंडा १० स्थित बसपार्क नजिकै रहेको तरकारी मण्डी अगाडी होटल रत्नको छतबाट खसेर मृत्यु भएका भनिएको श्रीदास रिजालको मृत्यु आत्महत्या नभइ हत्या भएको आफन्तको दाबी छ ।
आज हेटौंडामा पत्रकार सम्मेलन गरी उनका आफन्तले सो घटना छानविनको माग भएको र त्यसमा सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मृतकका काका नरेन्द्र रिजालले घटनाको थप छानविन गरी सत्यतथ्या बाहिर ल्याउन आग्रह गरेका हुन् । “घटना प्रकृति हेर्दा यो आत्महत्या नभइ हत्या नै हो जस्तो देखिन्छ”, मृतकका काका नरेन्द्र रिजालले भने ।
घटनाको दिन राती नचिनेका व्यक्तिहरुले असम्बन्धित ठाउँमा लानु, नजिकै भएपनि केही घण्टाको अन्तरमा मात्र त्यहाँ पुर्याइनु, बीचमै छोडिदिनु जस्ता विषयले घटनामा शंका गर्ने ठाउँ देखिएको उनको भनाई छ । युवा संघ नेपालका क्षेत्रीय सचिवालय सदस्यसमेत रहेका रिजाल व्यवसायमा पनि संलग्न थिए ।
घटनाबारे जानकारी दिँदै युवा संघ नेपालका श्यामकृष्ण उप्रेती, नेकपाका स्थानीय नेता जबिन्द्र थोकरलगायतले घटना शंकास्पद रहेको बताएका छन् । साथै उनीहरुले घटनाको थप अध्ययनका लागि प्रहरीमा निवेदन दिएको जानकारी दिँदै सत्यतथ्य पत्ता लगाई बाहिर ल्याउन पनि आग्रह गरेका छन् । मकवानपुरको कैलाश गाउँपालिका ३ का रिजालको फागुन ३० गते मृत्यु भएको थियो ।