हेटौंडाः मकवानपुर प्रहरीले १ सय ८४ केजी लागूऔषध गाँजा, ३ थान भरुवा बन्दुक र गाँजा ओसार्न प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसहित ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ मा सुरक्षाजाँचको क्रममा हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको भारतीय नम्बरको डब्लु बि ०६–६३०९ कारलाई हिजो आईतबार बिहान शंका लागि जाँच गर्दा कारभित्र फल्स बटन बनाएर लुकाएको अवस्थामा ४५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत भागलपुर बिहार बस्ने वर्ष ३० का बिष्णु कुमार साह, २८ वर्षीय अहमद गुल्जार र भारत पुर्वी चम्पारण मोतिहारी बस्ने ३० वर्षीय रेणु देवी रहेको मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
त्यस्तै गाँजा र भरुवा बन्दुक सहित पक्राउ परेका मकवानपुरका दुईजनालाई पनि आजै सार्वजनिक गरेको छ । उनीहरुलाई मकवानपुर प्रहरीले पश्चिम मकवानपुरबाट लागूऔषध गाँजा ६१ किलो पाँच ग्राम र भरुवा बन्दुक एक नाल सहित एक जनालाई पक्राउ गरेको हो ।
राक्सिराङ गाउँपालिका ७ स्थित चन्द्र बहादुर चेपाङको घर खानतलासी गर्दा लुकाएर राखेको गाँजा र भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको हो । पत्रलाउ पर्नेमा ४५ वर्षीय बलराम भन्ने चन्द्रबहादुर चेपाङ्ग रहेका छन् । पक्राउ परेका चेपाङ्गले सात वटा प्लास्टिकका बोरामा लागू औषध गाँजा लुकाएर राखेको अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रमुख एसपी सिंहले बताएका छन् । प्रहरीले उनले गाँजा नजिक राखेको भरुवा बन्दुक पनि बरामद गरेको थियो ।
त्यसैगरी प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर ७ बाटै ७८ केजी गाँजा र दुई नाल बन्दुक सहित बर्ष २० का सर्गलाल चेपाङ्गलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनलाई ६ वटा बोरा र सानो एक वटा प्लास्टिकको पोकामा लुकाएर राखेको गाँजा सहित भरुवा बन्दुक पनि बरामद गरेको प्रहरीले जनाएको छ । आज लागू औषध सहित पक्राउ परेकालाई म्याद थप गरी लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।