हेटौंडाः यहि चैत ७ गतेदेखि १६ गतेसम्म मकवानपुरमा “भूगर्भ शहीद स्मृति मकवानपुर गोल्डकप–२०७५” फुटबल प्रतियोगिता हुने भएको छ । आज सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको सो गोल्डकपबारे जानकारी गराइएको हो ।

हेटौंडाको वनविज्ञान खेल मैदानमा हुने प्रतियोगितामा घरेलु र एक विदेशी टोली सहित राष्ट्रियस्तरमा चर्चित ए डिभिजन क्लबका ८ वटा टोलीको सहभागिता रहने “भूगर्भ शहीद स्मृति मकवानपुर गोल्डकप–२०७५”का कार्यक्रम संयोजक प्रताप विष्टले जानकारी दिए । प्रतियोगितामा आयोजक, विदेशी क्लब दाफिन्स, थ्रीस्टार, आर्मी, प्रहरी, सशस्त्र, हिमालयन शेर्पा, च्यासल, सरस्वती र मच्छिन्द्र क्लब रहेको कार्यक्रम संयोजक विष्टले जानकारी गराएका हुन् ।

प्रतियोगितामा करिब ८५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेताले ८ लाख नगद र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपैयाँ नगद पुरस्कार रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ समेन्ट रहेको छ, भने संरक्षकमा हेटौंडा उपमहानरपालिका रहेको छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला फुटबल सघंका अध्यक्ष टिकाराम लामा, मकवापुर जिल्ला खेलकुद संघका अध्यक्ष माधव तिमल्सिना, राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा मकवानपुर ११ र मच्छिन्द्र क्लब भिड्ने भएका छन् । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।