हेटौडा, ३० फागुन । विप्लव समूहले आज फागुन ३० गते आह्वान गरेको बन्दका कारण प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडा बजार पूर्ण रुपमा बन्द भएको छ । हेटौंडा स्थित सरकारी कार्यालयहरु खुलेपनि बजार भने बन्द रहेको छ ।
आजै विहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगर स्थित पूर्वपश्चिम राजमार्गको छेऊमा विस्फोटक पदार्थ सहितको सेतो प्लाष्टिकको झोलाले बेरिएको वस्तु भेटिंदा सो क्षेत्र वरिपरि केहीबेर त्रास उत्पन्न भएको थियो ।

त्यस्तै हिजो बेलुकी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहानगरमा काठमाडौबाट हेटौंडा तर्फ आईरहेको ना ५ ख ७४११ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको थियो भने आज विहान हेटौंडाको वस्तीपुरमा गुडिरहेको ना ६ ख ७३६९ नम्बरको मालबाहक ट्रकलाई लक्षित गरी अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा सो ट्रकका चालक युवराज सुवेदी सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडा बजार तथा जिल्लाका प्रमुख बजारहरुमा छिटपुट रुपमा निजी चार पांग्रे तथा दुई पांग्रे सवारी साधन चलेका छन् ।