हेटौंडाः लैंगिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार भन्ने राष्ट्रिय नाराका साथ देशभर १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा हेटौंडा उपमहानगरपालिकाले श्रमिक महिलाहरुलाई सम्मान गरेको छ ।

निर्माणको क्षेत्रमा काम गर्ने ५ जना र सवारी चलाउने ४२ जना महिलालाई उदाहरणीय कार्य गरी अन्य महिलाहरुलाई पनि प्रेरणा दिएको भन्दै उपमहानगरपालिकाले कदरपत्र र नगदसहित सम्मान गरेको हो ।

उपमहानगरपालिकाले दैनिक लेभर काम गर्ने, निर्माण क्षेत्रमा मिस्त्रीको काम गर्ने र सवारी चालकका रुपमा काम गर्दै आएका ४७ जना महिलालाई प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । कठिन श्रम क्षेत्रमा कार्यरत उनीहरुलाई सम्मानसँगै आजै उपमहानगरपालिकाले स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । शिविरमार्फत उनीहरुको उपचारमा सहयोग पु¥याउने उपमहानगरपालिकाको उद्देश्य छ ।

काम गरेर खाने श्रमिक वर्गको उपेक्षा भईरहेको समयमा उनीहरुको श्रमलाई सम्मान गर्नका लागि पनि यस कार्यक्रम आयोजना गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । विदेशमा जुनसुकै काम गरेपनि त्यसको उच्च मूल्याङ्कन हुने तर नेपालमा भने सबैले हेप्ने परम्परा भएकाले श्रमिक महिलाहरुलाई सम्मान गरिएको मेयर महतको भनाई छ ।

घर निर्माण गर्दै आउनुभएका डकर्मी प्रमिला कँडेल, पार्बती बर्तौला, शर्मिला राई, लेभर महिला गिता श्रेष्ठ र सुनिता श्रेष्ठलाई कार्यक्रममा मेयर महतले प्रमाणपत्र, नगद र दोसल्ला ओढाई सम्मान गर्नुभयो । त्यस्तै, अटो–मयुरी, टेम्पो, माईक्रो चालक महिलाहरु गंगाकुमारी थापा, लक्ष्मी विक, तारा सुनार, मंगलीमायाँ प्रजा, मालती मोक्तान, गिता मैनाली, कोपिला गौतम, कुमारी राना, रिना मगर लगायत ४२ जना चालकलाई सम्मान गरिएको छ ।

यसअघि महिला दिवस भन्ने कुरा थाहा नपाएको तर आज सरकारी निकायबाट एक्कासी सम्मान हुन पाउँदा निकै खुसी भएको निर्माणको क्षेत्रमा काम गर्दै आउनुभएकी लेभर गिता श्रेष्ठले बताइन् । श्रमिकको क्षेत्रमा काम गर्दा जुनसुकै समयमा पनि अपहेलित भएको गुनासो गर्दै आएका महिलाहरुले आज सम्मान पाउँदा खुसी व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, १२ नम्बर वडाध्यक्ष ललित घलान, उपमहानगरपालिकाका सूचना अधिकारी डा. शंकरप्रसाद उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।