हेटौंडा: लैङ्गिक समानताका लागि समान सोँच र व्यवहारःसमृद्धीको आधार भन्ने मुल नाराका साथ १०९ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी आज हेटौंडामा मनाईएको छ । सो अवसरमा ३ नम्वर प्रदेशका सामाजिक विकास मन्त्रालयको आयोजनामा मकवानपुर हेटौंडामा पनि प्रभातफेरी गरी मनाईएको हो ।

उक्त प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट व्यानर र प्लेकार्डसहित सुरु गरिएको कार्यक्रम राप्ती रोड हुदैं बसपार्क स्थित सामाजिक मन्त्रालयमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रम उक्त मन्त्रालयका मन्त्री युवराज दुलालको अध्यक्षता भएको हो । सो अवसरमा मन्त्री दुलालले महिलाको हकहित र अधिकारका लागि आफ्नो सरकार लाग्ने प्रतिद्धता व्यक्त गर्नु भयो । साथै महिलामाथिको भेदभाव र हिंसा रोक्न सरकारको प्रयास मात्रैले नपुग्ने भएकोले समाजको हरेक वर्गले सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।

कार्यक्रममा ३ नम्वर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले महिलाप्रति हुने सामाजिक विभेदहरु अझै यथावत नै रहेकाले त्यसप्रतिको सोँच र दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने उल्लेख गर्नु भयो । उक्त काय्र्रक्रम प्रदेश सांसद मुनु सिग्देल लगायत विभिन्न सरकारी निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागीतामा सम्पन्न भएको हो ।