हेटौंडाः १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन भएको छ ।

‘लैंगिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ देशभर महिला दिवस मनाइरहँदा पदमपोखरीका महिलाहरु ‘महिलाको वर्तमान अवस्था र हाल महिलाहरुले प्राप्ति गरेको अधिकार’को बारेमा सञ्चालित अन्तरक्रियामा जुटेका हुन् ।

कार्यक्रममा सहभागी महिलाहरुले आफ्ना जिज्ञासा तथा गुनासा राखेका थिए । सहभागीहरुको जिज्ञासामाथि कार्यक्रमका अतिथिहरुले प्रष्ट पारेका थिए ।
सोही अवसरमा ग्रामीण महिला सेवा केन्द्रले पदमपोखरीकै एकजनालाई सहयोग गरेको छ । संस्थाकी सचिव अचला शर्माले स्थानीय एक पीडित महिलालाई घुम्ती पसल सञ्चालनका लागि बिउँपूजी सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

महिला सेवा सहकारीका अध्यक्ष यशोदा पराजुलीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका–१२, का अध्यक्ष ललित घलान, ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई महिला सेवा सहकारी र ग्रामीण महिला सेवा केन्द्रले संयोजन गरेका थिए ।