आहा रारा गोल्डकपको १७औं संस्करणको उपाधिका लागि त्रिभुवन आर्मी क्लबले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्यामरुनको दाउफिन्स क्लबमाथि १–० को जित दर्ता गर्दै आर्मीले थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा टेक बहादुर बुढाथोकीको पहिलो हाफको गोल निर्णायक बन्दा आर्मीले २०७२ सालपछि पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
१२औं मिनेटमा दिपक गुरुङले दिएको पासलाई अनमार्क रहेका टेक बहादुर बुढाथोकीले हेडर गोल गरेका थिए । ७४औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनाउने मौका गुमायो । कप्तान भरत खवासले दुई जना डिफेन्डरलाई छलाउँदै पाएको मौकालाई पनि गोलमा परिणत गर्न सकेनन् ।
८५औं मिनेटमा यान्निक ओवाना रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दाउफिन्स १० खेलाडीमा सीमित बन्यो । बाँकी समयमा दाउफिन्स खेलमा फर्किन नसक्दा पराजित हुन पुग्यो । आर्मीले उपाधिका लागि थ्रीस्टारको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा थ्रीस्टारले एपीएफलाई पराजित गरेको थियो ।
अघिल्लो संस्करणको फाइनलमा थ्रीस्टार पुलिससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । अनलाइनखबरबाट