हेटौडा,फागुन १४ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, ८ र ११ वडामा अण्डा तथा मासुका लागि पालिएका हजारौ कुखुरामा गम्भीर प्रकृतिको संक्रमण देखिएको छ । संक्रमणको कारण १ साता भित्र सो क्षेत्रका करीब १५ हजार कुखुराहरु मरिसकेका छन् । उता उपभोक्ताहरुले भने यस्तो अवस्थामा पनि पशु कार्यालयले मिलोमतोमा रिर्पोट गुपचुप राखेर कुखुरा विक्री गर्न दिएको आरोप लगाएका छन् ।
अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको छ । दैनिक ठूलो संख्यामा मरेपछि किसानको खोर नै रित्तिन थालेको छ भने यसबाट लाखौ रकम क्षति भएको किसानले बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चेतनारायण खरेलका अनुसार संकलन गरिएका नमुना चितवन पठाइने र रिपोर्टका आधारमा अन्य काम अगाडि बढ्ने बताएका छन् । तर एक साता अघि नै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, मकवानपुरको टोलीले सो क्षेत्रका संक्रमण देखिएका कुखुराको नमूना परिक्षण गरेको थियो । ल्याब परिक्षणबाट गम्भीर प्रकृतिको रोग अर्थात सस्पेक्टेड आएको थियो । एकसाता अघि नै रिजल्ट सस्पेक्टेड आएपनि कुखुराजन्य पदार्थ बिक्री वितरणमा कुनै रोकतोक नगरिनु मकवानपुर स्थित पशुसेवा केन्द्रको ठूलो त्रुटी देखिएको छ ।
ल्याब परिक्षणबाट आएको रिजल्टलाई केन्द्रले गुपचुप राखी बास्तविक रोगको पहिचान, कुखुराजन्य उत्पादन खान मिल्ने वा नमिल्ने निक्र्यौल नहुँदै स्थानीय प्रशासनलाई समेत जानकारी नदिई कुखुरा व्यवसायीसँग मिलेमतो गरी रिजल्ट लुकाएर कुखुरा बिक्री गर्न दिएको उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले बताएका छन् ।