हेटौँडा,
फागुन १४
चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि रिसानी माफसम्म अभिनय गरेकी कलाकार आशा खड्का र मकवानपुरका नव कलाकार बुद्ध थिङको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मकवानपुरकै गायक बुद्ध मोक्तानको आवाज रहेको छ । ‘भुली गईछ्यौ मलाई’ बोलको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
बुद्ध र आसाको यो कारुणिक संवाद समेटिएको म्युजिक भिडियो र गीतको शब्दले हरकोही प्रेम गर्ने जोडीलाई विक्षिप्त बनाउँछ । एकपटक चसक्क मुटु चस्काईदिन्छ । यस्तो प्रेमिल जोडीको प्रेम पनि कसरी टुट्न सक्छ ? यस प्रश्नको जवाफ गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमा अर्का कलाकार अनिल मोक्तानको इन्ट्री भएसँगै प्रेमको कारुणिक दृश्य अगाडि बढ्छ । प्रेममा विक्षिप्त बुद्धको अभिनय तथा आसा र अनिलको अभिनयले वैदेशिक रोजगारले तहसनहस पारेको घरको झझल्को दिन्छ । गीत जस्तै उत्कृष्ट बनेको भिडियोलाई दर्शकले मनपराएकै कारण अपलोड भएको केही समयमा नै यसलाई धेरै पटक हेरिएको छ ।
मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् । गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको बताउँछन् । अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव उनले गरेका छन् ।
हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।