सांकेतिक तस्वीर

हेटौंडाः पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको मकवानपुरमा दादुराको बिरामी भेटिएको छ । मकवानपुर जिल्लाको पश्चिमी क्षेत्र कैलाश गाउँपालिका–८, स्थित घुसाराङमा करिब आधा दर्जन व्यक्तिमा दादुराको संक्रमण फेला परेको हो ।


मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका एक बिरामीको रगत जाँच गर्दा दादुराको संक्रमण भेटिएपछि थप जाँच गर्दा त्यहाँ करिब आधा दर्जन व्यक्तिमा दादुराको संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।


कार्यालयका अनुसार मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले घुसाराङमा पुगी नमूना संकलन गर्दा सो संंक्रमण भेटिएको हो । ६ जनाको रगत संकलन गर्दा ५ जनामा दादुराको संक्रमण भेटिएको जनस्वास्थ्य प्रमुख शशिकान्त सिंहले बताउनुभयो ।


दादुराको संक्रमण पाइएपछि कैलाश गाउँपालिका जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको हेटौंडास्थित कार्यालयले आवश्यक अनुसन्धान अगाडी बढाएको छ । मकवानपुर जिल्ला २ वर्षअघि पूर्ण खोपयुक्त घोषणा गरिएको थियो ।