हेटौंडा,
फागुन १३
चेल्सीलाई टाइब्रेकरमा हराउँदै काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा सिटी ४–३ गोलले विजयी भयो ।

सिटीले छैटौं पटक यस उपाधि जितेको हो । लिभरपुलले सर्वाधिक आठ पटक उपाधि जितेको छ । सिटीले यसअघि सन् २०१६ मा उपाधि जितेको थियो । सिटीको जितमा सर्जियो अग्युरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्टर्लिङले गोल गरे । चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गरेका थिए । जोर्जिन्होको प्रहार एडरसनले बचाए ।

डेविड लुइजको प्रहार पोस्टमा लागेको थियो । खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सारीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेपनि केपा बाहिर निस्कन नमान्दा प्रशिक्षक सारी रिसले आक्रोशित बनेका थिए ।
सारीले टाइब्रेकरका लागि विली काबालेरोलाई खेलाउन खोजेपछि केपाले मैदान छाड्न मानेनन् । टाइब्रेकरमा केपाले लेरोय सानेको प्रहार बचाएका थिए ।