हरि अधिकारी

बजारलाई आजकल उद्धारकर्ता बन्ने हुटहुटि चलेको छ, सोख जागेको छ, अझ त्यसमाथि सोसल मिडियामा तस्बिर र भिडियो राख्ने रहर जागेको देखिन्छ ।रहर जाग्नु सकारात्मक पाटो हो, बिषयवस्तुसँग दक्ष हुनु अपरिहार्य छ, वन्यजन्तुबारे गहिरो ज्ञान हुनैपर्छ, पुर्वतयारी हुनैपर्छ ।

उद्धार कत्तिको आवस्यक छ ?

उद्धार गर्नै नपर्ने ठाउँमा उद्धार गरेको देखिन्छ, यो पक्ष साह्रै दुखद् छ, वन्यजन्तुको अधिकार बिरुद्ध छ । सामान्यतया वनबाट नजिकै भेटिएको वन्यजन्तुलाइ समातेर नयाँ ठाउँमा छोड्ने कार्यलाइ वन्यजन्तु उद्धारको उपमा दिएको छ समाजले, अझ सरकारी निकायले नै यस कार्यलाई प्रश्रय दिएको देखिन्छ, यस्ता कार्यले कुनै स्थानबिशेषको जैविक विविधतामा संकट निम्त्याउँछ । घाइते, अनाथ, मानसिक रुपमा कमजोर वन्यजन्तुलाइ वास्तवमै  उद्धार आवस्यक छ, घरभित्र, बस्तिमा पसेमा त्यहाँबाट बाहिर निकाले पुग्छ, बरु उक्त कार्य पछि छोडेको वन्यजन्तु कहाँ कुन अवस्थामा छ भनेर अनुगमन चाहिँ गर्दा राम्रै हुन्छ ।

क-कसले गर्न पाउँछ वन्यजन्तु उद्धार ?

वन्यजन्तु उद्धार एवं उद्धार केन्द्र ब्यबस्थापन कार्यविधि, २०७३ आफैँमा बिस्तृत छैन, यसमा घाइते र अनाथ बाहेकको वन्यजन्तु उद्धार गर्नुपर्छ भन्ने कुरालाइ नजरअन्दाज गरिएको छ । सरकारी बाहेकको पक्षले पनि वन्यजन्तु उद्धार गर्छ भनेर कल्पना समेत गरेको छैन ।  आम उद्धारकर्तालाइ सरकारी पक्ष बनाउँन हालसम्म सरकारले कल्पना समेत गरेको छैन ।

वन्यजन्तु उद्धारको फेहरिस्त के हो त ?

यहाँ उद्धारको नाममा सेलिब्रेटी बन्ने, फोटाहरुलाइ सुन्दर, वाहिवाहिपूर्ण कमेन्ट अनि सक्नेले मोनिटाइज गराउने ठुलै तप्का सक्रिय छ । सरकारी पक्ष प्राबिधिक जनशक्ति, अन्य आवस्यक तयारि, अध्ययन अनुसन्धान, विस्तृत कानुनबिनै चलेको छ । उद्धार गर्ने नपर्नेलाइ मनपरि उद्धार गरिएको छ,  वन्यजन्तु उद्धार कहाँ, के, कति, कसरी उद्धार भयो भन्ने सरकारी तथ्यांक नै छैन । नत सरकारले उद्धारकर्ताको सामान्य नैतिकता, ज्ञानको परिक्षण र अनुगमन गरेको छ । आफ्नै प्राकृतिक वासस्थानमा आफ्नो समुदायमै बस्न पाउने हरेक वन्यजन्तुको नैसर्गिक अधिकार हो, किन उद्धार गरियो, कहाँ र किन छोडियो भन्ने कुराको उत्तर हरेक उद्धारकर्ता वा सरकारी निकायले दिनै पर्छ ।वन्यजन्तु उद्धारकर्ता नैतिकवान हुनुपर्छ, यहाँ उद्धारका नाममा तस्करी समेत हुन सक्छ, गलत तरिकाले उद्धार गरिनु हुँदैन, उद्धारका क्रममा बन्यजन्तुलाइ सास्ती वा असहज हुने गरि गरिनु हुँदैन । तर वास्तविकता हुनुपर्ने भन्दा ठिक उल्टो जस्तै छ । अब सरकारहरु निन्द्राबाट ब्युँझीनु पर्छ, कुनै स्थान बिशेषको स्थानीय जैविक विविधता जोगाउनु पर्छ, वन्यजन्तु उद्धारलाइ इथिकल बनाउनुपर्छ ।